‘यातायात क्षेत्रबाट कर असुल्नेमात्र ध्यान’

पोखरा, २६ साउन । राज्यको ध्यान यातायात क्षेत्रबाट कर असुल्नेमात्र केन्द्रित रहेको यातायात व्यवसायीले आरोप लगाएका छन् । अनेक शीर्षकमा करमात्र असुल्ने तर यातायात क्षेत्रमा राज्यले गर्नुपर्ने केही काम नभएको उनीहरुको गुनासो छ।

ट्याक्सी व्यवसाय समिति पोखराको बिहीबार आयोजित ३७ औं महासमिति बैठक एवं वाषिर्क साधारणसभामा सहभागी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीले राज्यले उचित नीति निर्माण गरी व्यवस्थित गर्न र लगानीको वातावरण सुरक्षित गर्न आग्रह गरे ।

प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष डोलनाथ खनालले राज्यका हरेक अंगबाट लगानीकर्ताप्रति गरिने व्यवहार पीडादायी रहेको गुनासो गर्दै नागरिकको मात्र लगानी रहेको यो महत्वपूर्ण क्षेत्रलाई राज्यले बुझ्नै नसकेको बताए । उनले भाडा समायोजन तथा क्यारिअरका सम्बन्धमा महासंघले कार्यदल बनाएको जानकारी दिए । छतमा क्यारियर हटाउने निर्णय आपत्तिजनक रहेको बताउँदै खनालले विधान संशोधनको तयारीमा रहेको पनि जनाए ।

‘यातायातबाट कसरी कर असुल गर्नेमात्रै ध्यान छ । अनेक शीर्षकमा कर बुझाउनुपर्छ । सडक कर, जाँचपासदेखि महानगरसम्म विभिन्न कर बुझाउनुपर्छ । पार्किङ कर बुझाइसकेका हुनेछौं, रुट इजाजत पहिल्यै बुझाएको छौं फेरि महानगरलाई कति बुझाउने कर ?’-खनालले प्रश्न गरे । उनले ट्याक्सी व्यवसाय समिति पोखरा अग्रणी संस्था रहेको उल्लेख गर्दै मुलुककै गर्वलायक भएकाले सोहीअनुसार अघि बढ्न सुझाव दिए ।

महासंघका उपाध्यक्ष भरत तिमिल्सिनाले सवारी दुर्घटनाको सम्पूर्ण दोष यातायात व्यवसायीले खेप्नुपर्ने गुनासो गर्दै सामाजिक सुरक्षाको पनि माग गरे । सरकारले हचुवाको भरमा नीति निर्माण गर्दा व्यवसायी पलायन हुने भन्दै उनले सरकारसँग यस क्षेत्रको समस्या समाधानका लागि वार्तामा बस्न तयार रहेको बताए ।

महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले तीन खर्ब जतिको निजी लगानी, लाखौंले रोजगारी १८ प्रतिशत बढी राजश्व तिर्ने यातायात क्षेत्रलाई राज्यले वास्ता नगर्नु दुःखद रहेको बताए । उनले ट्याक्सी व्यवसाय समिति पोखरालाई सदैव साथ दिने बताउँदै सेवामुखी भएर काम गर्न आग्रह गरे । महासंघका कोषाध्यक्ष सुयश पौडेलले ट्याक्सी व्यवसाय समिति उदाहरणीय समिति रहेको भन्दै प्रशंसा गरे ।

सो अवसरमा नेकपा एमाले कास्कीका सचिवालय सदस्य युवराज पौडेल, महासंघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारी, गण्डकी अञ्चल संयोजक सिंहबहादुर कार्कीलगायत बोलेका थिए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एवं महासंघ केन्द्रिय सदस्य ऐनकुमार साईले यातायात क्षेत्रमा स्वमूल्यांकन पनि आवश्यक रहेको भन्दै सबै एकतावद्ध भएर अघि बढ्न आग्रह गरे । समितिका निवर्तमान अध्यक्ष गान्धीराज गिरीले ट्याक्सी व्यवसायी र मजदूरका हकहितका सवालमा सधँ आफू लागि पर्ने बताए ।

नेपाल यातायात मजदूर संघ कास्की सचिव अर्जुन खनाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी अध्यक्ष विष्णु खत्री, अखिल नेपाल मजदूर संघ कास्की अध्यक्ष रमेश सिंखडा, यातायात व्यवसायीका तर्फबाट स्थानीय श्रृंगा यातायातका अध्यक्ष केदार पौड्याल, पत्रकार कमल पौडेल अथकलगायत बोलेका थिए । समितिका अध्यक्ष प्रकाशमणि तिवारीको अध्यक्षतामा भएको साधारणसभाको बन्दसत्रले महासचिव युवराज भट्टराई र कोषाध्यक्ष सूर्यबहादुर थापाले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । राज्यलाई दुर्इ सय४० प्रतिशत कर तिरेर भित्रिएका सवारीसाधनमाथि पछिल्लो क्रममा महानगरपालिकाले दुर्इ सय ५० रुपैयाँको ट्याक्सीको सवारी करलाई चार सय प्रतिशत वृद्धि गरी एक हजार पुर्‍याएकोमा विरोध गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट चालक, व्यवसायी तथा चालकका छोराछोरीमध्ये एसएलसीमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको थियो भने मृत्यु भएका चालकका परिवारलाई आर्थिक सहयोग गरिएको थियो ।

- अादर्श समाज सम्वाददाता