पहिरोले गाउँ नै विस्थापित

पोखरा, २५ साउन। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ पार्थे खहरेमा पहिरोले घर बगाएपछि गाउँ पूरै विस्थापित भएको छ। गाउँ छेउबाट बग्ने खहरे खोला मंगलबार राति बाढीसहित गाउँमा पसेपछि गाउँका १६ मध्ये १३ घर बगाएको हो। बाँकी तीन घरमा क्षति भएको छ।

खोलाले बाटो बिराएर गाउँमा पस्नेबित्तिकै भागेकाले मानवीय क्षति जोगिएको स्थानीय रेशम लामिछानेले बताए।

‘गाउँमाथि गड्गडाउन थालेपछि बस्तुभाउको दाम्लो काटेर हामी भाग्यौं। त्योभन्दा पहिले नै घरभित्र पानी पसेपछि हामीलाई शंका लागेको थियो’-उनले भने-‘हावाकावा गर्दै उतिखेरै ननिस्किएको भए बिहान कसैलाई देख्न पाउँदैनथ्यौं।’ दाम्लो काट्न छुटेका एउटा गाई र चारवटा बाख्रा गोठमै पुरिएका छन् भने पाँच सय कुखुरा बगाएको छ।

पहिरोमा घर मिसिएपछि घरविहीन परिवार नजिकैको डाँडागाउँस्थित छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। ‘रातभरमै टेक्ने जमिन पनि नराखी सुकुम्बासी बनायो’- पहिरोमा घरगोठ गुमाएका देवीलाल लामिछानेले भने-‘घर त गयो गयो, गरिखाने धानखेत पनि एक टुक्रा नराखी बगायो।’

उनका अनुसार करिब ३५ रोपनी धानखेत पनि बाढीले बगाएको छ। बाढीका कारण स्थानीय देवीलाल लामिछाने, दण्डबहादुर विक, प्रवीण लामिछाने, गंगाबहादुर विक, प्रेम विक, राजमान विक, दीननाथ पौडेल, कमला परियार, नरबहादुर विक, काजी विकलगायतको घर पूर्ण क्षति भएको छ भने दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषाललगायतको घर उच्च जोखिममा छ। नजिकका घरसमेत जोखिममा रहेकाले निरन्तर बाढी चले थप क्षति हुन सक्ने स्थानीय बताउँछन्। २०४९ सालमा पनि यस्तै बाढीले धानखेत नष्ट भएको स्थानीय बताउँछन्। ‘अहिलेको थुम्को उबेला बाढीकै कारण बनेको हो। ‘पहिले गेग्र्यान भरिएका खेत सस्तोमा पाएर हामीले किन्यौं- लामिछानेले थपे-‘बस्ती बसेदेखि यसरी खोला बौलाएको थाहा थिएन। अहिले घरखेत एकै खेप भयो।’ पहिरोले पुरेको जग्गा सस्तोमा किनेर डाँडागाउँका बासिन्दा २०५२ सालमा बेसी झरेका थिए। यसअघिका वर्षमा पनि लेदो माटो बगेर आउने गरेको उनीहरु बताउँछन्। ‘बर्खा लागेपछि खोलामा कालो माटो बगेर आउँथ्यो। हामी त्यसलाई मल ठानेर खोलै खेततिर फर्काउँथ्यौं’-अर्की स्थानीय गौमाया विकले भनिन्-‘पहिले केही समय आएपछि लेदो रोकिन्थ्यो। यसपालि रोकिएन।’ उनका अनुसार सोमबारदेखि नै खोलामा लगातार लेदो बगिरहेको थियो।

बाढीले हुम्दीमा रहेका दुर्इ वटा मोटरेवल पुल र बिजुलीका पोलसमेत बगाएको छ। निजी र सार्वजनिक गरी झण्डै चार करोड बराबरको क्षति भएको माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्णगुरुङले जानकारी दिए। घरखेतसहित गाउँ नै बगरमा परिणत भएपछि गाउँपालिकाले पुनर्वासको तयारी गरिरहेको छ।

‘सबैभन्दा पहिले पीडित परिवारको पूर्ण विवरण संकलन गछौर्ं। निजी जग्गामा अन्य ठाउँमा घडेरी भएका परिवारलाई उनीहरुकै जग्गामा पुनर्वास गराउँछौं’-उनले भने-‘सुकुम्बासी भएका परिवारलाई उचित ठाउँमा जग्गाको व्यवस्था गर्ने योजना छ।’ आपतकालीन घटना भएकाले गाउँपालिकामा छलफल गरि थप निर्ण गर्ने गुरुङको भनाइ छ।

बुधबार बिहानैदेखि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धारको काम गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले घरबार गुमाएका पहिरोपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँ आपतकालीन राहतस्वरुप वितरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनास्थल निरीक्षण गर्दै तत्काल राहत वितरण गरिएको जानकारी दिए। ‘तत्कालका लागि १५ परिवारले १५ हजारका दरले राहत पाएका छन्। अरु संघ संस्थाले पनि राहत वितरण गरिरहेका छन्’-अधिकारीले भने-‘थप राहतका लागि गृह मन्त्रालयमा लेखि पठाएका छौं।’ नेपाल रेडक्रस सोसाइटीले पनि तत्कालका लागि पहिरो पीडितपरिवारलाई कम्बल, त्रिपाल, खाद्यान्न, लगाउने कपडासहितका सामग्री वितरण गरेको छ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री र नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष बामदेव ढुंगानाले घटनास्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्। नेकपा माओवादी केन्द्रले समेत सबै परिवारलाई एक/एक थान त्रिपाल वितरण गरेको छ।

सरकारले तत्काल राहत दिने

बाढी पहिरो प्रभावितलाई सरकारले तत्काल राहत उपलव्ध गराउने भएको छ।

बुधबारको संसद् बैठक सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका सांसद शारदा पौडेलले जानकारी दिइन्।

‘कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रिभानलगायत देशभर बाढी पहिरोको कारण भएको क्षतिबारे संसद्मा ध्यानाकर्षण गरायौं’-सांसद पौडेलले भनिन्-‘हामीले कुरा उठाइसकेपछि गृहमन्त्रीले तत्काल राहत घोषणा गर्नुभयो।’

सांसद पौडेलका अनुसार सरकारले बाढीपहिरोमा सदस्य गुमाएका परिवारलाई एक लाख, घर, जग्गा नभएकालाई दुर्इ लाख र घर बनाउन जस्तापाताका लागि १५ हजार रुपैयाँ राहतस्वरुप प्रदान गर्नेछ।

- प्रकाश ढकाल