स्वाइन फ्लुले १० को ज्यान लियो

काठमाडौं, २५ साउन। मौसमी रुघाखोकी (स्वाइन फ्लु) का कारण हालसम्म १० जनाको मृत्यु भएको छ। व्यवस्थापिका संसद्को बुधबारको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशका विभिन्न भागमा हालसम्म तीन सय ८१ जना सो रोगबाट बिरामी भएको जानकारी गराए।

एकजना चिकित्सकलाई समेत स्वाइन फ्लु लागी निको भएको जनाउँदै फ्लुले महामारीको रुप भने नलिएको मन्त्री पोखरेलको भनाइ थियो। स्वाइन फ्लुको रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको उनले बताए। मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघाखोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, पत्रकार र सबै सरोकारवाला पक्षमा आग्रहसमेत गरे।

यसैबीच, सांसदले वर्षाले देशभरिका राजमार्गलाई क्षति पुर्‍याएको तथा काठमाडौंभित्रका सडकमा बनेका खाडल पुन प्रधानमन्त्रीले दिएको निर्देशन पालना नभएकोतर्फ सरकार र सदनको ध्यानाकर्षण गराएका छन्। कोशी ब्यारेजको पानी सप्तरीको गोबरगाडामा पसेको, गएराति कास्कीका विभिन्न स्थानमा पहिरो गएको, चिकित्सा विधेयक सदनमा प्रस्तुत गर्न, अस्थायी शिक्षकका माग पूरा गर्न पनि सांसदहरुले माग गरेका छन्।

संसद्् बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। समयमा नेपाली काँग्रेसका तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएको तर्फ सरकारको ध्यानाकर्षण गराए। उनले अस्थायी शिक्षकका माग पूरा गर्न पनि सरकारसंग आग्रह गरे। माओवादी केन्द्रका अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरे। राष्ट्रिय प्रजातन्त्र पाटीका दीलानाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाए।

नेपाल मजदुर किसान पाटीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति र्सार्वजनिक गर्न माग गरे। राष्ट्रिय जनमोर्चाका मीना पुनले भारतले सुनौली भन्सार कार्यालयबाट नेपालतर्फ सामान पैठारी गर्न अवरोध गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

- अादर्श समाज सम्वाददाता