२३ औं विश्व आदिवासी दिवस मनाइयो

पोखरा, २५ साउन। पोखरामा २३ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ। अधिकार, प्रतिनिधित्व र सुशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संविधान संशोधन हाम्रो साझा अभियान नाराका साथ र्‍याली र समारोह आयोजना गरी दिवस मनाइएको हो।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीद्वारा आदिवासी जनजाति संघसंस्थाको सहभागितामा चिप्लेढुंगाबाट झाँकीसहितको र्‍याली शुरु गरी भिमसेनचोक, पालिखेचोक, नदीपुरहुँदै नेपाल छन्त्याल संघ कास्कीमा पुगी समारोहमा परिणत भएको थियो।

प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गणेशलाल थकालीले संविधान अधुरो र अपूरो भएकाले संशोधन गरी आदिवासी जनजातिको अधिकार सुनिश्चित गरिनुपर्ने बताए। आदिवासी जनजातिसँग सरकारले धेरैपटक सहमति सम्झौता गरेपनि कार्यान्वयन नगरिएकाले आदिवासी जनजातिले अधिकार प्राप्त गर्न नसकेको टिप्पणी गरे।

थकालीले पहिचानजनित स्थानीय तहको नामाकरण हटाउने षडयन्त्र भइरहेको उनले आरोप लगाए। ‘अधिकार प्राप्तिका लागि एकता आन्दोलन नगरे प्राप्त अधिकार पनि खोसिदै जानेछन्’-उनले भने-‘बालानन्द आयोगले आदिवासी जनजाति प्रतिकुल हुने गरी तयार पारेको स्थानीय तह पुनसंरचनाको विरोध गर्दागर्दै स्थानीय तहको समेत निर्वाचन गरी लागू भएको छ।’

नेकपा माओवादी केन्द्र नेता एवं कास्की इञ्चार्ज राजकाजी गुरुङ करणले पहिचानसहितका जातीय अधिकारका लागि, जातीय उत्पीडनका विरुद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिए। राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्नकै लागि पहिचानको मुद्दामा केही समय ओझेलमा रहेको जस्तो गरे पनि पहिचान र अधिकारका मुद्दालाई सशक्त बनाइने बताए।

संघीय समाजवादी कास्कीका अध्यक्ष दीपक तामाङले आदिवासी जनजाति आफ्नो अधिकारप्रति सचेत हुन नसकेकै कारण दमन, उत्पीडनका साथै अधिकार कटौती हुँदै गएको उल्लेख गरे।

अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष भिम श्रीसले प्रतिगामी संविधान खारेज गरी सबैको अधिकार सुनिश्चित भएको संविधान लेखिनुपर्नेमा जोड दिए। आदिवासी जनजातिलाई सधै भर्‍याङ मात्रै बनाउँदै आएकाले सजग हुन आग्रह गरे। १४ प्रदेशसहितको नयाँ नेपाल निर्माण हुनुपर्ने श्रीषको भनाइ थियो।

जनजाति संघ कास्कीका सभापति जितबहादुर गुरुङले आदिवासी जनजातिको एकताबाट मात्रै अधिकार प्राप्ति हुने बताए। उनले आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि आइएलओ १६९ कार्यान्वयन हुनुपर्नेमा जोड दिंदै आदिवासी जनजातिको राजनीतिक चेतना अपरिहार्य भएको बताए।

आदिवासी जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष राम थापाले आदिवासी जनजाति अगुवाको पाटीर व्यक्तिगत स्वार्थका कारण आदिवासी जनजाति आन्दोलन सशक्त हुन नसकेको टिप्पणी गरे।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका पूर्ण ह्योल्मोले नेपालको संविधान २०७२ संशोधन गरी आदिवासी जनजातिको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए।

महासंघ कास्कीका निवर्तमान अध्यक्ष पानबहादुर र्घर्तीले जारी गरिएको संविधानले आदिवासी जनजातिमाथि बेइमान गरेको बताउँदै अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन अपरिहार्य भएको बताए।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले शुभकामना विगतका आन्दोलन उपलब्धिमूलक हुन नसक्दा तमुवान, मगरात, तामसालिङ पहिचान ओझेलमा परेको टिप्पणी गरे।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका पूर्व अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी जनजातिको स्वःपहिचान, अधिकार र अस्तित्वका बारेमा सचेत हुनुपर्ने बताए।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी अध्यक्ष राजकुमारी भुजेलले अधिकारबिनाको जारी संविधानको संशोधन गरिनुपर्नेमा जोड दिइन्।

महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिमान तामाङले स्वागत र सचिव बमबहादुर छन्त्यालले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता