भकरजुङ सामुदायिक वन प्रथम

हेमजा, २५ साउन। वन संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा गाउँपालिका-३ स्थित भकरजुङ सामुदायिक वन पुरस्कृत भएको छ ।

जिल्ला वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा बुधबार एक कार्यक्रमबीच गत आव २०७३/०७४ तर्फ जिल्लाभरबाट प्रथम हुन सफल उक्त वनलाई नगद सात हजार साथमा प्रमाणपत्र सहित सम्मान गरिएको हो।

हेमजास्थित फुकेटारी सामुदायिक वन द्वितीय हुँदै पाँच हजार र पोखरा ३३ स्थित धारापानी वन तृतीय हुँदै तीन हजार सहित प्रमाणपत्र पुरस्कार पाउन सफल भए।

निजी वनतर्फ पोखरा-१६ का नर्वदादेवी आचार्यको वन प्रथम, रुपा गाउँपालिका ७ का दिवाकर सुवेदीको वन द्वितीय एवं रुपा गाउँपालिका-२ का होमकुमारी ओझाको वन तृतीय भए। पुरस्कारस्वरुप क्रमशः पाँच हजार, तीन हजार, दुर्इ हजार साथमा प्रमाणपत्र दिइयो ।

प्रमुख अतिथि निमित्त क्षेत्रीय वन निर्देशक राजेन्द्रमानसिंह भण्डारीले वनको सिधा सम्बन्ध स्थानीय जनतासँग हुने भन्दै त्यसको संरक्षण गर्ने दायित्व पनि स्वयम् स्थानीय जनताकै भएको उल्लेख गरे।

भण्डारीले मानव र वन्यजन्तु विचमा द्वन्द्व बढ्दै जानु चिन्ताको विषय भएको बताउँदै न्यूनीकरणको लागि निर्देशानलय लागिपरेको पनि जानकारी दिए। उनले सामुदायिक वनको मर्म र भावनाअनुसार काम गर्न उपस्थित वन समूहका पदाधिकारीलाई आग्रह गरे।

जिल्ला वन अधिकृत केदार बरालले कार्यपत्र प्रस्तुत गर्दै वन कार्यालयका गतिविधि र भावी योजनामाथि प्रकाश पारेका थिए।

अधिकृत बरालले २०३० सालमा सिन्धुपाल्चोकबाट शुरु गरिएको सामुदायिक वनको अवधारणले साकार रुप पाउँदै गएको चर्चा गर्दै वन कार्यालयले आगामी दिनमा एक वन एक उद्यम, समृद्घकिा लागि वनलगायत नारा अघि सार्ने बताए।

बरालले सरोकारवाला निकायबीच वन व्यवस्थापनबारे साझा बुझाई आवश्यकता भएको पनि औल्याए। सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालीदास सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक वन एक अविछिन्न, उत्तराधिकारवाला, स्वशासित संगठित संस्था भएको बताए ।

कार्यक्रममा महासंघकी केन्द्रीय सदस्य सरिता कुमाल, प्रथम हुन सफल भकरजुङ वनका अध्यक्ष दुर्गाप्रसाद पौडेल, निजी वनतर्फबाट दिवाकर सुवेदी, सहायक वन अधिकृत नवीन विकलगायत विभिन्न वन समूहका प्रतिनिधिले सामुदायिक वनलाई निमुखाको धनसँग तुलना गरेका थिए।

‘संघीयतामा सामुदायिक वनः स्थानीय समुदायको पहिचान’ भन्ने मूलनाराका साथ जिल्ला वन कार्यालय कास्की तथा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको संयक्त आयोजनामा त्रिदिवसीय कार्यक्रमअन्तर्गत बुधबार अन्तरक्रिया तथा पुरस्कार वितरण भएको हो ।

जिल्ला वन अधिकृत केदार बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक वन अधिकृत शालिकराम पराजुलीले स्वागत र सहायक वन अधिकृत नवीन विकले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता