तरकारीको पकेट क्षेत्र बन्दै लामातरा

लेखनाथ,२५ साउन। पोखरा २७, लामातरा निवासी ख्यामबहादुर भुजेल पहिला जोसँग तरकारी किनेर खान्थे अहिले उनैलाई तरकारी बेच्न सफल छन्।

एक दशक पहिला स्याङ्जाबाट लेखनाथको लामातरा बसाइ सर्दा ठेलामा तरकारी लिएर आउने भारतीय मूलका व्यापारीबाट तरकारी किनेर खाने बानी परेका भुजेल अहिले उनीहरुलाई आफ्नो बारीमा फलेका गोलभेंडा, घिरौला, करेलोलगायत मौसमीदेखि बेमौसमी तरकारी वेचेर मनग्य कमाउन सफल भएका हुन्।

तपाई जो कोही पनि घुम्दै लेखनाथको अघौ चोकबाट करिब तीन किलोमिटर दक्षिणतर्फ लाग्नु भयो भने त्यस क्षत्रको वारीभरि सेता प्लाष्टिकका प्रशस्तै घर देख्न पाउनु हुनेछ । ती मानिस बस्ने घर भने होइनन् । तीनै घरभित्र तरकारी फलाएर भुजेलजस्तै अन्य किसानले पनि आम्दानीको बलियो स्रोत बनाएका छन्।

लामातरालाई सबै प्रकारका तरकारी, माछा, कुखुरा, बंगुर र पशुपालनको पकेट क्षेत्र बनाउने उद्देश्यले यहाँका किसान विभिन्न समूह बनाएर अगाडि बढेका छन्।

कृषि पेशा व्यावसायिक बनाउन सरकारले अगाडि सारेको प्रधानमन्त्री आधुनिक कृषि परियोजनमा सहभागी हुन यहाँका किसान संगठित भएर लामातरा ताजा तरकारी कृषक समूह, कालीमाटी जलजले माछापालन कृषक समूह र गोलपाटन ताजा तरकारी उत्पादक कृषक समूह गठन गरेका छन् ।तरकारीबाट राम्रो उत्पादन लिन सकिने भएपछि गुल्मी घर भएका रिखबहादुर सिंजापतिले उक्त क्षेत्रमा आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका छन्। आफ्नो पाँच जनाको परिवार पालेर वाषिर्क दुर्इ लाख रुपैयाँसम्म बचत गर्न सकेको उनी बताउँछन्।

तरकारी उत्पादबाट घर व्यवहारदेखि वृद्ध बुबा आमालाई समेत सजिलैसँग पाल्न सकेको सुनाउँदै व्यवस्थित किसिमले तरकारी खेती गर्ने हो भने जीवन चलाउन सहज हुने उनको अनुभव छ।

यता, सोही ठाउँमा गुल्मीका यमबहादुर तरामु पुनले छ वटा टनेल निर्माण गरेर तरकारी खेती गर्दै आएका छन्। मेहनत गर्ने हो भने अरबको खाडीमा पुगेर कमाउने भन्दा दोव्वर रकम स्वदेशमा आफ्नो परिवारसँगै बसेर कमाउन सकिने बलियो उदाहरण प्रस्तुत गरेका छन् ।

कृषि पेसा व्यावसायिक बनाउँदै सोही ठाँउका सूर्य भुजेलले लेखनाथको लामातरालाई तरकारीको पकेट क्षेत्र वनाउन सकिने बताउँछन्।

यहाँको माटो, सिंचाइ सुविधा र जमिनको भौगोलिक बनोटका कारण यो क्षेत्रमा जुनसुकै तरकारी पनि उत्पादन गर्न सक्ने हो भने बजारीकरणको कुनै समस्या नभएको उनी बताउँछन्।

यता, सोही ठाउँमा ४ वर्ष दुर्वई बसेर घर फर्किएका २७ वषीय विनोद भुजेलले कुखुरापालन गरेका छन्। कुखुरापालनका लागि युवा स्वरोजगार कोषबाट ४० हजार अनुदान पाएका उनले कुखुरापालनलाई अझ व्यवस्थित बनाउने सुनाए।

यातायता र सिंचाईको राम्रो व्यवस्था भएर पनि यहाँका किसानप्रति सरकारी निकायको ध्यान नपुग्दा जुन माटो सुहाउँदो उत्पादन लिन नसकिएको किसानको गुनासो रहेको छ। किसान प्रत्साहनका लागि सरकारबाट बीउको छनोट, लगाउने प्रविधि र रोग निवारणका उपायबारेमा बेलाबेलामा जानकारी गराउने हो भने यहाँको माटोमा सुन फलाउन सकिने किसानको भनाइ  छ।

- भीमपाणि बराल