लामाचौर तीज महोत्सव भदौ ४ देखि

पोखरा, १८ साउन। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ ४ देखि ८ गतेसम्म लामाचौर तीज महोत्सव हुने भएको छ। विगतमा तीन दिन चल्ने उक्त महोत्सव यसपालि पाँच दिन हुने भएको हो ।

उक्त महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिताहरूको आयोजना गरिने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष बमबहादुर गुरुङले जानकारी दिए।

महोत्सवमा राष्ट्रिय महिला भलिबल, अन्तरमावि भलिबल प्रतियोगिता, अन्तरमहिला समूह तीज गीत प्रतियोगिता, अन्तरविद्यालय जोडी नृत्य एवम् लोकनृत्य प्रतियोगिता, स्व नरबहादुर बानियाँ स्मृति क्षेत्रीय सितेरियो कराँते प्रतियोगिता, श्रष्टा सम्मानका कार्यक्रम हुने छन् ।

इन्द्रराज्यलक्ष्मी माविको परिसरमा सञ्चालन हुने भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन काठमाडौंको न्यू डायमण्ड एकेडेमी, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वल एपिएफ क्लव, नेपाल आर्मी, पश्चिमाञ्चल भलिवल संघ र जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागिता हुने छ । विजेताले ७५ हजार, उपविजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन्। तेश्रोले २० हजार र सान्त्वनाले १५ हजार पाउने महोत्सव प्रचार संयोजक गिरधारी शर्माले बताए। त्यस्तै, वेष्ट प्लेयर, वेस्ट क्वीकर, बेस्ट ल्रि्रो, वेस्ट स्पाइकर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट डिफेन्डर र वेस्ट कोचलाई पुरस्कारस्वरूप ट्रफी र घडी उपहार प्रदान गरिने भएको छ।

भलिबल प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले पहिलो संस्करण एपीएफले र दोश्रो देखि पाँचौ संस्करण लगातार न्यू डायमण्ड एकेडेमीले जितेको जानकारी गराए। महोत्सवमा करिब २२ बढी व्यापारिक स्टल रहने छन् ।

त्यस्तै, अन्तरमावि छात्रा भलिबलको प्रथम पुरस्कार २५ हजार, एक सय, एक रूपैयाँ, द्वितीय १५ हजार, एकसय, एक रूपैयाँ, छ। आयोजकका अनुसार चार हजार दर्शकले एकैसाथ भलिबल खेल हेर्न सकिने प्याराफिट निर्माण हुँदैछ।

महिला समूह तिज गीत प्रतियोगिता र अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, एकसय, एक रूपैयाँ, द्वितीय पुरस्कार १० हजार, एकसय, एक रूपैयाँ र तृतीय पुरस्कार सात हजार एक सय, एक रूपैयाँ छ। महिला समूह तीज गीततर्फ पाँच समूहलाई समान दुर्इ हजारको सान्त्वना पुरस्कार रहेको छ। त्यस्तै, अन्तरविद्यालय लोकनृत्य प्रतियोगितातर्फ तीन समूहलाई तीन हजार रूपैयाँ दिइनेछ ।

विद्यालयस्तरीय जोडी नृत्य प्रतियोगिता र महिला समूह नृत्य प्रतियोगितातर्फ पहिलो पुरस्कार सात हजार, एकसय, एक रूपैयाँ, द्वितीय पुरस्कार पाँच हजार, एकसय, एक रूपैयाँ र सान्त्वना पुरस्कार तीन समूहलाई समान तीन हजार रहेको छ। महोत्सव उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्ने कार्यक्रम छ।

करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दाबी छ। महोत्सवबाट ४१ लाख आम्दानी र करिब ३६ लाख रूपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

- अादर्श समाज सम्वाददाता