अली मियाँको स्मृति दिवसमा भानुपार्क सफाइ

पोखरा, १८ साउन । लोककवि अली मियाँ स्मृति दिवसमा फूलबारीको भानुमार्गस्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थल भानुपार्कको सरसफाइ गरिएको छ ।

अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको साधारणसभा अवसरमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् डा कुसुमाकर न्यौपानेले लोककवि अली मियाँको लोक साहित्यको उत्थानका निम्ति गरेको जीवनभरको संघर्ष र निःस्वार्थ कर्म, धार्मिक सहिष्णुता एवम् स्वाभिमान जस्ता गुण स्रष्टाहरूले अनुशरण गर्नुपर्ने बताए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, प्राज्ञ हरिदेवी कोइराला, लोकगायक पद्मराज ढकाल, संस्कृतिकर्मी तुलसी ‘प्रवास’, साहित्यकार अम्बिकाप्रसाद भट्टराई, भिम रानाभाट, धर्मराज पौडेल ‘अल्पायु’, भानुमार्ग ‘क’ आमा समूहकी अध्यक्ष मीठु गुरुङ, भानुभार्ग ‘क’ टोल विकासका सचिव र्सूयमोहन ढकाललगायतले लोककवि अली मियाँको व्यक्तित्व, कृतित्व तथा सांस्कृतिक योगदानका बारे चर्चा गरेका थिए।

भानुपार्कको सरसफाइपछि प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको प्रतिष्ठानको साधारण सभामा सचिव पद्मराज ढकालद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष तुलसी ‘प्रवास’द्वारा प्रस्तुत आर्थिक प्रतिवदेन सर्व सम्मतिले पास गरियो।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत मन्तव्य राखेकी थिइन् ।

- एजेन्सी