पोखरा स्पोर्टस् अवार्ड

पोखरा, १७ साउन। नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन २१ मा आयोजना दोश्रो पोखरा स्पोर्टस् अवार्ड तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष केशव पाठकले तयारी अन्तिम चरणमा पुगेको बताए।उनका अनुसार उक्त अवसरमा पूर्व अग्रज खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरिनेछ।

यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीकामाया गुरुङ र भलिबलकी अरुणा शाही मनोनयनमा परेका छन्।

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र हृयाण्डबलका विशाल वस्नेत मनोनयनमा परेका छन् भने वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिबलकी ममता डगौरा, एथलेटिक्सका दर्शना बुढामगर र सागर नेपाली मनोनयनमा छन्।

उत्कृष्ट प्रशिक्षकतर्फ तेक्वान्दोका सुनबहादुर लामा, भारोत्तोलनका  बखतमान श्रेष्ठ र  एथलेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा छन्। उत्कृष्ट संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने मञ्चले जनाएको छ। वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अवार्ड प्रदान गरिने छ। पोखरा सभागृहमा हुने उक्त अवार्डमा मनोनयनमा परेकामध्ये हरेक विधाबाट एक जनाले नगदसहित अवार्ड प्राप्त गर्नेछन्। महिला तथा पुरुष उत्कृष्टलाई जनही २५ हजार र अन्यलाई जनही १० हजार रुपैयाँ दिइनेछ।कार्यक्रममा कलाकार गायक प्रमोद खरेल, विनोद बानियाँलगायतको गायन प्रस्तुति रहनेछ। यस्तै, नृत्य प्रस्तुति, बिबोर्इङ, जुम्बा डान्स, खेलाडीद्वारा र्‍याम्पवाक, खेल तथा राष्ट्रिय भावका गीतमा नृत्य र मार्सल आर्टस् खेलाडीको प्रदर्शन रहने छ।

पत्रकार सम्मेलन पत्रकार महासंघ कास्कीका सल्लाहकारसमेत रहेका रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, मञ्चका सचिव रञ्जन अधिकारीलगायत बोलेका थिए।

- अादर्श समाज सम्वाददाता