ह्याण्डबल उपाधि माउन्ट अन्नपूर्ण र गण्डकीलाई

पोखरा, १६ साउन ।  माउन्ट अन्नपूर्ण मावि र गण्डकी बोर्र्डिङ स्कुलले तेश्रो संस्करणको एकता बुक्स अन्तरविद्यालय छात्र/छात्रा हृयाण्डबल प्रतियोगिताको उपाधि जितेका छन्।

पोखरा रंगशालामा सोमबार भएको छात्रतर्फको फाइनलमा माउन्ट अन्नपूर्णले सोसल पव्लिकलाई २७-१६ को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

छात्रातर्फ फाइनलमा साविक विजेता गण्डकी बोर्र्डिङ स्कुलले पोखरा एकेडेमीलाई ६-३ को गोलअन्तरले पराजित गर्दै उपाधि जोगायो । गण्डकीको जितमा आकृती गुरुङले छ गोलको योगदान दिइन्।

छात्रतर्फ सरस्वती आदर्श विद्या आश्रमले गण्डकीलाई पराजित गर्दै तेश्रो भयो भने छात्रातर्फ ज्ञान ज्योतिले सरस्वती आदर्श विद्यााश्रमलाई पराजित गर्दै तेश्रो भयो ।

विजयीलाई प्रमुख अतिथि नेपाल हृयाण्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेजबहादुर गुरुङ, कास्की जिल्ला विद्यालय हृयाण्डवल स्ंाघका अध्यक्ष श्रीकृष्ण अधिकारी, एकता बुक्स डिष्ट्रिब्यूर्टस पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सञ्जय अधिकारी, प्याब्सन कास्की उपाध्यक्ष षडानन्द गौतम, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकलगायतले पुरस्कार वितरण गरेका थिए। विजेता टिमलाई १०/१० हजार, उपविजेतालाई सात/सात हजार साथमा ट्रफी मेडल प्रमाण-पत्र वितरण गरिएकोे छ।

अनुशासित टीम छात्रतर्फ अर्मलाको माउन्ट अन्नपूर्ण मावि र छात्रामा सरस्वती आदर्श विद्याश्रम घोषित भए । छात्रामा गण्डकीकी आकृती गुरुङ र छात्रतर्फ सोसल पव्लिकका सचिन गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि पाए ।

छात्रमा माउन्ट अन्नपुर्णका अजय गुरुङ र छात्रातर्फ पोखरा एकेडेमीका योगिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। छात्रातर्फको फाइनल खेल हङकङ व्युटी इन्स्टिच्युटका सञ्चालक तथा क्लारा इन्टरनेश्नल व्युटी कलेज एण्ड स्पाका प्रमुख कार्यकारी अधिकृत मीना गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेकी थिइन् ।

- एजेन्सी