सांसद पौडेलबाट बाटो निर्माणार्थ रकम प्रदान

पोखरा, २ साउन। कास्की जिल्ला क्षेत्र नम्बर २ का सांसद तथा नेपाली काङ्ग्रेसकी नेतृ शारदा पौडेलले पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १५ स्थित चोरसाँघुदेखि मितेरी पुलसम्म खोल्न लागिएको बाटोको आरम्भ गर्न दुर्इ लाख प्रदान गरेकी छन्।

सांसद पौडेलले उक्त रकमको चेक अलकापुर टोल विकास संस्थाका अध्यक्ष प्रेम नारायण पौडेल, सचिव लोकनाथ ढकाल र कोषाध्यक्ष नित्यलाल अधिकारीलाई संयुक्त रूपमा प्रदान गरेकी हुन्।

रकम प्रदान गर्दै सांसद पौडेलले विकास नभएका ठाउँलाई प्राथमिकता दिदैं आगामी दिनमा बाटो निर्माण गर्न आफूले सघाउने बचनवद्धता जनाइन।

चेक हस्तान्तरणका अवसरमा टोल विकास वडा समन्वय समिति १५ का अध्यक्ष टोपबहादुर थापा, नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव वर्षा केशव पराजुली, अलकापुर आमा समूहकी अध्यक्ष सत्यदेवी शर्मा, शुक्लेश्वर मन्दिर सञ्चालक समितिका अध्यक्ष घनश्याम भण्डारी, समाजसेवी जयबहादुर केसीलगायतको उपस्थिति रहेको थियो।

यसैगरी, सेती नदी किनार बाटो निकास समितिले थालेको बाटो निर्माणका लागि अलकापुर टोल विकास संस्थाको खानेपानी उपसमितिका तर्फबाट एक लाख २८ हजार प्रदान गरिएको छ।

टोल विकास संस्थाका अध्यक्ष प्रेमनारायण पौडेलका अनुसार अहिलेको प्राथमिकता बाटो जसरी पनि खोल्नु परेको हुँदा कामको थालनी गर्न रकम हस्तान्तरण गरिएको हो। चोरसाँघुदेखि प्रजातन्त्र सेनानी  ऋषि केशव पराजुलीको स्मृतिमा खोलिएको ऋषिमार्गसम्म पहिलो चरणको ट्रयाक खोल्न थालिएको हो।

दोस्रो चरणमा समाजसेवी सूर्यबहादुर केसीले निर्माण गरेको मितेरी साँघुबाट ता·लेकोट समाजघरतर्फ ट्रयाक खोलिने सेती नदी किनार बाटो निकास समितिका अध्यक्ष ख्यामनारायण पौडेलले जानकारी दिए।

- एजेन्सी