विश्वकप छनोटमा नेपालले सिंगापुरलाई हरायो

काठमाडौँ, २ साउन। उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ।

सिंगापुरस्थित सिंगापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो।

चौहत्तर रनको झिनो लक्ष्य पछयाएको नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । सुरुवाती ब्याट्सम्यान सन्दीप सुनार एक रनमा आउट भए भने आसिफ शेख चार रनमा आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन थालेको थियो।

त्यस्तै तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका अनिल साहले १९, दीपेन्द्रसिंह ऐरी दुर्इ तथा प्रकाश केसीले छ रनमात्र जोडे । रोहितकुमार पौडेलले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए भने शाहव आलमले तीन तथा किशोर महतोले दुर्इ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरका ब्याट्सम्यान ब्रिगुर आयरले सर्वाधिक ४२ रन जोडे भने सिन अग्रवालले ११ रन जोड्नुबाहेक अन्यले दोहोर अंक जोड्न सकेनन्।

- रासस