लिटिल स्टेपमा अभिमुखीकरण

पोखरा, २ साउन। लिटिल स्टेप माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नव-आगन्तुक विद्यार्थीको सम्मानमा सोमवार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि चित्रेली समाज पोखराका अध्यक्ष क्या नारायणप्रसाद गुरुङले शिक्षकको अध्यापन शैली, विद्यार्थीको जिज्ञासु प्रवृत्ति र अभिभावकको चासो नै सफलताको आधार बन्ने बताए।

अतिथि गुरुङले सबैको संयुक्त लगानीले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिने भएकाले यसतपm सबैको चासो रहन आवश्यक रहेको उल्लेख गरे।

विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङले विद्यालयको शैक्षिक इतिहासमा लिटिल स्टेप माविबाट शिक्षा आर्जन गरेका विद्यार्थीले विभिन्न क्षेत्रमा उच्चता हासिल गरेको उदाहरण दिँदै आफू्लाई सक्षम बनाउन लगनशिल हुन अनुरोध गरे।

पोखरा लिंकन इन्टरनेशनल कलेजले प्राप्त गरेको सफलता र क्रेडिट ट्रान्सफर गरी विश्वका विभिन्न मुलुकमा गई शिक्षा हासिल गर्ने अवसरसमेत यसै संस्थाबाट प्राप्त हुने हुँदा अभिभावकलाई निश्चिन्त हुन उनले आग्रह गरे।

संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यालयले ३५ वर्षको इतिहासमा प्राप्त गरेको सफलता र अनुभव सुनाउँदै अभिभावकका आकाङ्क्षा र विद्यार्थीका सपना साकार पार्ने क्रममा आफू सदैव ढृढ रहेको बताइन्।

कार्यक्रम संयोजक विनोद गिरीले विद्यालयमा विद्यार्थीले पालना गर्नुपर्ने नीति नियमका बारेमा प्रकाश पारेका थिए।

शिक्षक डा पुण्यप्रसाद शर्माले विद्यार्थी स्वयम् आफ्नो भविष्यको मालिक र शिक्षक उनीहरूको पथप्रदशक भएको बताए।

कक्षा १२ का छात्र प्रकाश पराजुलीले आफूले विद्यालयबाट प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै लगनशील हुनुपर्नेमा जोड दिए। नवआगन्तुक विद्यार्थी समिर गुरुङले विद्यालयको नीति नियमलाई पालना गर्ने प्रतिवद्धतासहित विद्यालय र अभिभावकको सपना साकार पार्न कर्तव्यपथमा अघि बढ्ने धारणा प्रस्तुत गरे।

विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भीमनाथ बरालले गरेका थिए।

- अादर्श समाज सम्वाददाता