पोखरा विश्वविद्यालय २१ औं वर्षमा प्रवेश

पोखरा, १ साउन। पोखरा विश्वविद्यालय आइतबारदेखि २० वर्ष पुरा भई २१ औं वर्षमा प्रवेश गरेको छ।

स्थापनाको २१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आइतबार विश्वविद्यालयको प्राङ्गण लेखनाथमा एक विशेष कार्यक्रमको आयोजना गर्‍यो। वाषिर्कोत्सवमा विश्वविद्यालयको विगतदेखि वर्तमानसम्मको समिक्षात्मक चर्चा गरियो भने एनआईसि एशिया बैंकले विश्वविद्यालय हाता भित्र विभिन्न जातका छ सय वटा बिरूवा वृक्षारोपण गरेको थियो।

वाषिर्क उत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवम् पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्दप्रसाद शर्माले देश अहिले सहमति र सहकार्यको राजनीतिमा चलेको जानकारी गराउँदै विश्वविद्यालय पनि त्यसबाट अछुतो रहन नसक्ने विचार व्यक्त गरे। उनले साना तिना मसिना मतभेद, स्थार्थका कुरा छाडेर वृहत हितका लागि सोच्न सकिएमा पोखरा विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगको विकास र विस्तारमा यस क्षेत्रलाई नै समृद्ध र वैभवशाली बनाउन सक्ने धारणा राखे।

पोखरा विश्वविद्यालयका कार्यक्रम देशव्यापी फैलिएर सञ्चालन भइरहेकाले यो एक प्रदेशमा मात्र खुम्चेर सिमिति हुननसक्ने उनको भनाइ थियो।

उनले विश्वविद्यालयको समग्र विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने, ठाउँको अभावमा कार्यक्रमको स्तरोन्नति गर्न नसकिएकोले स्थानीयनिकायले जग्गा प्राप्ति र मेडिकल कलेजको स्थापनाका लागि पहल गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राडा इन्द्रप्रसाद तिवारीले पोखरा विश्वविद्यालय राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापित हुनुपर्नेमा जोड दिए।

उनले विश्वविद्यालयलाई शिक्षाको गुणस्तरमा बृद्धि गर्नकालागि नयाँ नयाँ बजारोन्मुख कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

लेखनाथ उद्योग वाणिज्य संघका अक्ष्यक्ष एवम् पोखरा विश्वविद्यालयका सभासद् लक्ष्मी त्रिपाठीले विश्वविद्यालयले उपलब्ध जग्गाको संरक्षण गर्न नसकेकोले सुकुम्बासीको नाममा हुकुमबासीले जग्गा अतिक्रमण गर्दै लगेको उल्लेख गरे।

विश्वविद्यालयलाई आस्थाको रूपमा भर्ती केन्द्र बनाउन नहुने उल्लेख गर्दै उनले खुबी र क्षमता भएका मान्छेलाई प्रतिस्पर्धा गराई विश्वविद्यालयमा प्रवेश दिन सकेमा विदेशीने प्रवृत्ति रोकिने विचार व्यक्त गरे।

असल नागरिक, गुणस्तरयुक्त नागरिक र अब्बल नागरिक उत्पादन गर्ने तथा विश्वविद्यालयलाई शान्त र मर्यादित तुल्याउने विश्वविद्यालयको प्रमुख उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।

पोखरा लेखनाथ महानगपालिका वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालयले लेखनाथवासीको गुनासा र सुझावलाई कदर गरी उचित निकास दिनुपर्ने उल्लेख गरे।

उनले विश्वविद्यालयले स्थानीयतहको विकासमा पनि ध्यानदिनु पर्ने विचार राख्दै प्रदुषण र वातावरणीय संरक्षणलगायतका कार्यमा विश्वविद्यालयसँग सहकार्य गर्न वडा सँधै तयार रहेको उल्लेख गरे। विश्वविद्यालयको स्थापना र संरक्षण गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्ने तत्कालीन जनप्रतिनिधि, जग्गादाता, राजनीतिकप्रतिनिधि, समाजसेवीलाई भूल्ननहुने उनको तर्क थियो।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष उपप्राध्यापक निराजन बमले राजनीतिक भागबण्डालाई विश्वविद्यालयले कुनैपनि हालतमा प्रश्रय दिननहुने बताउदै हरेक नियुक्तिलाई योग्यता र क्षमताको प्रतिस्पर्धात्मक आधारमा नियुक्ति गर्ने मापदण्ड तय गर्नुपर्ने उल्लेख गरे। शिक्षक कर्मचारीको वृत्ति विकासको अवसरका लागि विश्वविद्यालयले कन्जुस्याई गर्न नहुने उनको तर्क थियो।

एनआईसी एशिया बैंक गण्डकी धौलागिरीका क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले आँफू पोखरा विश्वविद्यालयको भूतपूर्व छात्र रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाप्रदान गरी दक्ष जनशक्ति उत्पादनगर्ने कार्यमा विश्वविद्यालयलाई अझै सफलतामिलोस् भनि कामना गरे। शर्माले व्यवस्थापन संकायमा उत्कृष्ट उच्चतम अंकल्याई उत्तीर्ण हुने तीन जना छात्रछात्रालाई हरेक वर्ष बैंकमा रोजगारी दिने र शिक्षककर्मचारीलाई बिना धितो ऋण सहुलियतदिने घोषणा समेत गरे।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई उत्प्रेरणाको तालिम, पुरस्कार र दण्डको व्यवस्थापन गर्नुपर्ने विचार राखे। कार्यक्रमको सञ्चालन योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक ज्ञानेश्वर शर्माले गरेका थिए।

- अादर्श समाज सम्वाददाता