निर्वाचनबारे सरकारको ध्यानाकर्षण

काठमाडौं १ साउन। निर्वाचन आयोगले तोकिएको समयमा नै सबैतहको निर्वाचन सम्पन्न गर्न तत्काल निर्वाचन सम्बन्धी कानून आवश्यक्त रहेको फेरी स्मरण गरेको छ। निर्वाचन आयोगले यसअघि नै असार मसान्त सम्ममा निर्वाचन सम्बन्धी कानून आउनुपर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने सुझाब दिएपनि सरकारले त्यसबारे अझै तयारी नगरेपछि निर्वाचन आयोगका पदाधिकारीहरुले आइताबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन्।

भेटका अवसरमा आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र सो आयोगलाई आवश्यक समयावधि बारे छलफल भएको जनाएको छ। भेटमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबाट संविधानले व्यवस्था गरेअनुसार २०७४ साल माघ ७ गतेभित्रै प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु अत्यावश्यक रहेको र सोको लागि आवश्यक पर्ने निर्वाचन सम्बन्धी कानून र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्व गठन भई सोको प्रतिवेदन छिटो आयोगमा प्राप्त हुनुपर्ने र निर्वाचन आयोगले तयार गरेको निर्वाचन कार्यतालिका अनुसार कार्य गर्नुपर्ने आवश्यकता रहेको कुरा बताए।

भेटमा प्रधानमन्त्री देउवाले छिट्टै निर्वाचन सम्बन्धी ऐनहरू पारित गरिने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। भेटमा प्रमुख निर्वाचन आयुक्त यादवकासाथै आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रयाद पौड्याल र सुधीर कुमार शाह लगायत सहभागी थिए।

- अादर्श समाज सम्वाददाता