पर्यटन प्रवर्द्धनका लागि रक गार्डेन

लमजुङ, १ साउन। ग्रामिण पर्यटनको पर्याय बन्दै गरेको लमजुङमा अको एक गाउँ पर्यटन प्रवर्द्धनका लागि जुटेको छ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने मस्र्याङ्दी गाउँपालिका- ५, घेर्र्मु स्थित खानी गाउँका बासिन्दाले ‘रक गार्डेन’ निर्माण गरी पर्यटन प्रवर्द्धन कार्यमा जुटेका हुन्।

रक गार्डेनको अवधारणा अनुसार त्यसको केही स्वरूप निर्माण भएसँगै पर्यटकको आवागमन बढ्न थालेको ‘रक गार्डेन’ निर्माण समितिका अध्यक्ष कामसार्की गुरुङले बताए। उनका अनुसार रक गार्डेनको सुन्दरता देखेर आन्तरिक र बाहृय दुबै थरी पर्यटक लोभिने गरेका छन्। अन्नपूर्ण पदमार्गको बहुनडाँडा घेर्र्मु खण्डकोबीचमा उक्त रक गार्डेन पर्दछ। बेसीशहर- चामे सडक बनेर यातायातमार्फत पर्यटकहरू सिधै मनाङ पुग्ने गरेका कारण उक्त स्थान ओझेलमा पर्न थालेको थियो। गाउँमा पर्यटकको आवागमनमा कमी आएसँगै गाउँका युवाहरू विदेश पलायन हुन थालेपछि ती युवालाई गाउँमै रोक्न, गाउँमा पर्यटन प्रवर्द्धनको कार्य गर्ने हेतुले यसको परिकल्पना गरिएको गुरुङले बताए। स्थानीय माविका शिक्षक समेत रहेका गुरुङ रक गार्डेन निर्माण समितिको अध्यक्ष समेत छन्।

खानी गाउँसँगैको पहरा छेउँमा निर्माण गरिएको रक गार्डेनमा कतै गुफा छन्, कतै ढुंगाको पुल। ठूला ठूला ढुंगा जोडेर कतै सुरुङ बनाइएको छ भने कतै कतै ढुंगाहरू जोडेर सुरुङ बनाएको पनि भेटिन्छ।

रक गार्डेन परिक्रममा गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने गुरुङले बताए। रक गार्डेन पर्यटकीय मात्र होइन, ऐतिहासिक रूपमा पनि उत्तिकै महत्वपूर्ण भएको बताउदै उनले परापूर्व कालमा हाम्रा पुर्खाहरू ओडारमा के कसरी बसेका थिए – त्यसको झल्को समेत रक गार्डेनमा लिन सकिने जानकारी दिए।

रक गार्डेनसँगै होमस्टे र रक स्टेको पनि प्रवन्ध गरिने भएको छ। अन्नपूर्ण पद यात्राका लागि आएका आन्तरिक तथा बाहृय पर्यटकलाई चट्टानको बगैंचाले निकै आकषिर्त गर्ने गरेको छ।

निकै कलात्मक तरिकाले प्रकृतिले सृजना गरेको ‘रक गार्डेन’ अर्थात चट्टानको बगैंचा घुम्दा पर्यटकले अनौठो र रमाइलो मान्छन्।

जिल्ला विकास समिति लमजुङको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत गत आर्थिक बर्ष २०७२/७३ मा आठ लाख रूपैयाँ र स्थानीयको एक लाख ७३ हजार रूपैयाँको श्रमदानबाट रक गार्डेनका केही पूर्वाधार निर्माण भएको गुरुङले जानकारी दिए।

गार्डेनकोबीचमा बस्ने ठाउँहरू निर्माण भएको छ । थोरै लगानीमा उल्लेख्य काम गर्न सकिन्छ भन्ने एक नमूना योजनामा रक गार्डेनलाई लिइएको जिल्ला समन्यवय समितिका प्रमुख स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए।

रकगार्डेनले उत्कृष्ट पर्यटकीय गन्तब्यको सम्भावना बोकेको मस्र्याङ्दी गाउँपालिकाका कार्यकारी अधिकृत धर्मराज लम्सालले बताए। उनका अनुसार रक गार्डेनको स्तरोन्नतीका लागि मस्र्याङ्दी- ५ घेर्मुले चालु आर्थिक बर्ष ०७३/७४ मा दुर्इ लाख रकम खर्च गरेको छ। सो रकमले रक गार्डेनमा बनभोज स्थलको समेत निर्माण गरिएको स्थानीय वडाध्यक्ष लेखमान गुरुङले बताए। उनका अनुसार रकगार्डेनमा ‘रक स्टे’को अवधारणा पनि छ। ‘रक गार्डेन’ हेर्न आउने पर्यटकहरूलाई चट्टानमै बास बस्न चाहेमा सो सुविधा दिने योजना रहेको वडाध्यक्ष गुरुङले बताए ।

अहिलेनै दैनिक करिब ७० जनाको हारहारीमा पर्यटकहरू र कगार्डेनमा आउने गरेको वडा अध्यक्ष लेखमान गुरुङले जानकारी दिए।  उनका अनुसार ठूला चट्टान भित्र नै खाने, बस्ने तथा स्नान घर र शौचालयको व्यवस्था गर्ने योजनाका साथ खानी गाउं’का बासिन्दाहरू अघि बढीरहेका छन्। खानी गाउँमा रक गार्डेनको अतिरिक्त अन्य पर्यटकीय गाउँमा झैँ गुरुङ संस्कृतिको मञ्जा लिन सकिने छ।

रक गार्डेन स्थलमा अहिले फुल रोप्ने, विजुली सुविधा पुर्‍याउने, गार्डेन स्थलमा कुर्सीनिर्माण गर्ने, ओडार छिर्ने सुरुङ् मार्ग, पिकनिक स्थल, पोखरी, ढुङ्गेधारा, बास स्थान निर्माण गर्ने काम भइरहेको छ। रक गार्डेन बनाउने पञ्चबषीय योजना रहेको अध्यक्ष गुरुङले बताए। जिल्ला सदरमुकाम बेसीशहरबाट २२ किमीको दुरीमा उक्त रक गार्डेन पर्दछ। बेसीशहर- चामे सकड खण्डमा रहेको रामबजारबाट १५ मिनेटको पैदल यात्रा गरी रक गार्डेनको मज्जा लिन सकिन्छ।

- अादर्श समाज सम्वाददाता