पोखरामा ‘नो हर्न जोन मान्दैनौं’ : यातायात व्यवसायी

पोखरा ३१ असार। बिनापूर्वाधार हचुवा भरमा राज्यलाई कर उठाउने गरी ‘नो हर्न जोन’ घोषणा आफूहरुलाई मान्य नहुने गण्डकी अञ्चलका यातायात व्यवसायीले बताएका छन्।

सडक स्तरोन्नति, बसपार्क निर्माण, आइल्याण्ड नघटाइकन राज्यले कर असुल्नका लागि नो हर्न जोन आफूहरुलाई मान्य नहुने उनीहरुको भनाइ छ।

ट्राफिक प्रहरीले राजश्व उठाउन साउन १ गतेदेखि पोखरालाई नो हर्न जोन बनाउने निर्णय गरेको भन्दै उनीहरुले कुनै पनि हालतमा नियम अवलम्बन नगर्ने सवारीलाई हर्न बजाएको वहानामा ट्राफिकले कारबाही गरे सम्पूर्ण सवारीसाधन सडकमै तेस्र्याएर विरोध गर्ने व्यवसायीले चेतावनी दिएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन अञ्चल कमिटी गण्डकीले आयोजना गरेको यातायात व्यवसायी भेलामा बोल्ने अधिकांश व्यवसायीले बिनापूर्वाधार नो हर्न जोन आफूहरुलाई मान्य नहुने बताए।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले ट्राफिक प्रहरीले दुर्इचार जना व्यवसायीलाई भेला गरेर पोखरालाई नो हर्न जोन भनेर हर्न बजाएको खण्डमा सवारीलाई कारबाही गरे आफूहरुले त्यसको प्रतिकार गर्ने बताए।

ट्राफिक प्रहरीले विभिन्न निकायसँग समन्वय गरेर पोखराको सडकको स्तरोन्नति, पोखरामा बसपार्क निर्माण, मुख्यमुख्य चोकका आइल्याण्ड घटाउनुको साटो एकतर्फी ढंगबाट कर उठाउनकै लागि हर्न बजाउने सवारीलाई कारबाही गरे आफूहरुले सवारी सडकमा रोकेर विरोध गर्ने अधिकारीले बताए।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले यातायात व्यवसायीले लगानी सुरक्षित गर्दैै प्रतिस्पर्धामा सुनिश्चितता हासिल गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए। पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्ष ऐनकुमार साईले यातायात व्यवसायी एकजुट हुन नसक्नु दुःखद पक्ष भएको बताए।

पृथ्वी राजमार्ग वस सञ्चालक समिति महासचिव तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष योगेन्द्र केसीले व्यवसायीबीच एकता हुन नसक्दा व्यवसाय नै धरापमा परेको बताउँदै व्यवसायी एकजुट हुनुको विकल्प नरहेको बताए।

नेपाल लोकतान्त्रिक यातायात व्यसायी संगठन गण्डकी अञ्चल अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कास्कीका सचिव दामोदर वैरागी, पृथ्वी राजमार्गका संरक्षक केशवप्रसाद अधिकारी, नेपाल ट्रेड युनियन महासंघ जीफन्ट अध्यक्ष रुद्र खत्री, यातायात व्यवसायी ज्ञानेन्द्रराज शर्मालगायत बोलेका थिए।

- एजेन्सी