११ एआइजी सिफारिसमा सिलवाल परेनन्

काठमाडौं ३१ असार। गृह मन्त्रालयले ११ जना प्रहरी नायव महानिरीक्षक -डीआइजी) लाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। सिफारिसमा डीआइजी नवराज सिलवाल भने परेनन्। आइजीपीका दावेदार सिलवालले सवोर्च्च अदालतमा दिएको मुद्दा विचाराधीन छ।

बढुवा सिफारिस समितिको बैठकले एआइजीमा बढुवा गर्न सिफारिस गरेकामा आइजीपीका दाबेदार बमबहादुर भण्डारी र जयबहादुर चन्दसमेत छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले शुरुमा चन्दलाई प्रहरी प्रमुख बनाएको थियो। आइजीपीका दावेदार सिलवालले दायर गरेको रिटमा सवोर्च्चले चन्दको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आइजीपीमा बढुवा गरेको हो।

एआइजीपीका लागि सिफारिस भएकामा डिआइजी देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन्।

गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। आइजिपी नियुक्त भएर काम गर्न नपाएका चन्दलाई भने सरकारले २ नम्बरमा एआइजी बढुवाका लागि सिफारिस गरेको छ। नवराज सिलवालले चन्दलाई आइजिपी बनाउने निर्णय बदर गर्दै सवोर्च्च अदालत गएपछि अदालतले उनको बढुवा बदर गरेको थियो। त्यसपछि सरकारले प्रकाश अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो।

चन्दलाई आइजिपी नियुक्त गरेपछि मात्र होइन सिलवाल अर्याललाई आइजिपी बनाएपछि पनि अदालतमा गएका थिए।

सवोर्च्चमा विचाराधीन उक्त मुद्दाको टुंगो नलागेकाले सिलवाललाई एआइजीमा बढुवा नगरिएको गृह मन्त्रालय स्रोतले बतायो।

पाँच महिनाभित्र नेपाल प्रहरीलाई संघीयतामा लैजाने र त्यसअनुरुप डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ। एक दुर्इ दिनभित्रै एसएसपीको पनि डिआइजीमा बढुवा निकाल्ने गृहको तयारी छ।

यसैगरी, प्रहरी प्रधानकार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि १५ जनाको नाम सिफारिस गरेको छ।

शुक्रबार एआइजी बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधानकार्यालयले डिआइजीको पनि सिफारिस गरेको हो। एआइजीमा बढुवा भएपछि रिक्त हुने ११ र थप चार रिक्त गरी डिआइजीमा १५ जनालाई बढुवा सिफारिस गरिएको हो।

प्रहरी प्रधानकार्यालयले १ नम्बरमा सर्वेन्द्र खनालको नाम सिफारिस गरेको छ भने २ मा रमेश खरेल र ३ मा पुस्कर कार्कीको नाम सिफारिस गरेको छ।

डिआइजीमा सिफारिस हुनेमा उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवन खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्न्यात, पुष्पचन्द्र रञ्जित र सुरेश विक्रम शाह सिफारिसमा परेका छन्।

लामो समयदेखि नेतृत्व तहका एआइजी तथा डिआइजी पद रिक्त हुँदा नियमित कार्यसम्पादन तथा चेन अफ कमान्डमा समेत समस्या उत्पन्न भएको थियो। एसपीपछि डिएसपीमा बढुवाको प्रक्रिया अघि बढाउने गृहकार्य प्रहरीप्रधान कार्यालयले गरिरहेको स्रोतले जनाएको छ।

आइजीपी नियुक्ति विवाद अदालतमा अल्झि’दा लामो समयसम्म प्रहरी अधिकृत तथा उपल्लो तहमा बढुवा अवरुद्ध भएको थियो। वृत्ति विकास ठप्प हुँदा संगठनमा निराशा र अन्योल छाएको थियो।

- अादर्श समाज सम्वाददाता