वडाबाटै नाम दर्ता गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ, ३१ असार। व्यवस्थापिका-संसद्मा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुको एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मतदाता नामावली दर्ता गराउने अवधि १५ दिन बढाउन माग गरेको छ।

पूर्वमन्त्री एवम् सांसद बालकृष्ण खाँणको नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसदहरुले स्थानीय तहको वडाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था गराउन माग गरेको छ।

साउन १५ गतेसम्म जिल्ला सदरमुकाममा नाम दर्ता गर्न निर्वाचन आयोगले सूचना जारी गरेको र उक्त अवधि साउन मसान्तसम्म बढाउन माग गरिएको सांसद रामहरि खतिवडाले राससलाई जानकारी दिए।

नाम दर्ता गराउन छुटेका सबैलाई दर्ता गराउने व्यवस्था मिलाउन, विसं २०७० मा नाम दर्ता गरेकाको यथावत् राख्न, गाउँ फरक परेकाको विवरण सच्याउन र  विदेशमा हुनेको नामावली इन्टरनेटबाट संकलन गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री देउवासँग माग गरिएको उनले बताए।

सो अवसरमा प्रधानमन्त्री देउवाले आयोगसँग समन्वय गरी माग पूरा गराउन पहल गर्ने वचन दिएका थिए। प्रतिनिधिमण्डलमा सांसदहरु आनन्द ढुंगाना, अब्दुल रज्जाकलगायत सहभागी थिए।

- रासस