१५ औं आहा रारा गोल्डकपबाट झण्डै २८ लाख बचत

पोखरा ३१ असार। पोखरामा वर्षेनी आयोजना हुने आहा रारा गोल्डकपको १५ औं संस्करणबाट झण्डै २८ लाख रुपैयाँ बचत भएको छ।

आयोजक सहारा क्लब पोखराले उक्त प्रतियोगिताबाट २९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ बचत भएको शनिबार आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा जनाएको हो।

अर्थ संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालित उक्त प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै ९७ लाख १० हजार सात सय ६५ आम्दानी भएकोमा खर्च कर्टाई उक्त रकम बचत भएको जनाएका हुन्।

उनका अनुसार प्रतियोगितामा प्रायोजकबाट ३० लाख ५९ हजार नौ सय ९८, टिकट बिक्रीबाट ४१ लाख ५० हजार तीन सय ७०, ब्यानरबाट २२ लाख छ हजार ५५ र अहिलेसम्म ४३ हजार बैंक ब्याज तथा प्रोत्साहनवापतको दुर्इ लाख ५१ हजार आम्दानी भएको थियो।

क्लबका अध्यक्ष वीरभद्र आचार्यले अघिल्लो वर्षभन्दा यस वर्ष बचत रकम कम रहेको बताए। १४ औं संस्करणमा झण्डै ३५ लाख रुपैयाँ बचत भएको थियो।

बचत रकम सहारा क्लब पोखराले दोबिल्लामा सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गर्दैआएको छ।

एकेडेमीमा १६ जिल्लाका २८ बालक आश्रति छन्। एकेडेमी सञ्चालनको लागि मासिक झण्डै दुर्इ लाख रुपैया खर्च लाग्ने गरेको अध्यक्ष आचार्यले बताए।

उनले पोखरा रंगशाला निर्माणक्रममा रहेकाले अब के गर्ने भन्ने विषयमा विकल्पबारेमा छलफल गर्ने तर प्रतियोगिता नरोकिने बताए।

कार्यक्रममा प्रतियोगिताका प्रमुख प्रायोजक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले प्रतियोगितालाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समिति, पोखराका उपाध्यक्ष सुनील गुरुङ, क्लबका वरिष्ठ उपाध्यक्ष केशबहादुर थापा, महासचिव केशवराज बराललगायत बोलेका थिए।

- अादर्श समाज सम्वाददाता