फेवा महोत्सवको समीक्षा

पोखरा, ३१ असार। पश्चिमाञ्चल होटल संघ पोखराले १४ औ फेवा नव वर्ष महोत्सवको समीक्षा गरेको छ।

महोत्सवका संयोजक एवं आयोजक संघका अध्यक्ष विकल तुलाचनले महोत्सवको समीक्षात्मक प्रतिवेदन संघका सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा उपसमितिका संयोजकहरु समक्ष प्रस्तुत गरेका थिए।

अध्यक्ष तुलाचनले महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिए।

आगामी दिन महोत्सवलाई थप परिस्कृत गर्दै कसरी लान सकिन्छ भन्ने विषयमा सबैसँग छलफल गरी सुझाव लिएर अगाडि बढिने भनाइ तुलाचनको थियो।

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटकीय क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन सबै व्यवसायीले भूमिका खेल्नुपर्ने भन्दै नो हर्न जोनको कार्यक्रमलाई सफल पार्न सबै लाग्नुपर्ने बताए।

संघका सल्लाहकार विप्लव पौडेलले आर्थिक कारोबार र पर्यटन प्रवर्द्धनका लागि महोत्सले सघाउ पुगेको भन्दै फेवा महोत्सवबाहेक अन्य महोत्सव मनसुन सिजनमा गर्न सकिने भनाइ राखे।

अर्का सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले फेवा महोत्सवलाई निरन्तरता दिंदै प्रवर्द्धन र लगानी संरक्षणको मुद्दालाई गम्भीर रुपमा लिँदै अगाडि बढ्नुपर्ने बताए।

सल्लाहकार लक्ष्मीबहादुर भट्टराईले संघका लागि आवश्यक सल्लाह प्रदान गर्न आफू सधैँ तत्पर रहेको भन्दै महोत्सव सफल भएकोमा खुसी व्यक्त गरे।

सल्लाहकार गोविन्दराज पहारीले फेवा महोत्सवको क्रममा आयोजना हुने पर्यटक दौडले राम्रो छाप छोडेको भनाइ राखे। संघका अन्य पदाधिकारी तथा उपसमितिका संयोजकहरुले समेत समीक्षात्मक भनाइ राखेका थिए। संघका सचिव राजेन्द्र ढकालले कार्यक्रम सञ्चालन गरेका थिए। नव वर्ष २०७४ अवसरमा महोत्सव पाँच दिनसम्म चलेको थियो।

- एजेन्सी