प्लाष्टिकको चामल नभएको पुष्टि

काठमाडौ ३० असार। काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको हो।

काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्रिएको थियो।

चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो।

काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो। परिसरका प्रमुख एसएसपी छविलाल जोशीले परीक्षणमा चामलमा प्लाष्टिक नभेटिएको पुष्टि भएपछि गोदाममा गरिएको सील खोलिदिने बताए।

- अादर्श समाज सम्वाददाता