उद्यमी गोमा ढकाल पुरस्कृत

पोखरा, ३० असार। उद्यमी गोमा ढकाल उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत भएकी छन्। उद्यमशीलताको प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्रका लागि नेपाली महिला उद्यमी व्यवसायीका रुपमा योगदन पुर्‍याएको भन्दै ढकाललाई नेपाल सरकारले पुरस्कृत गरेको हो।

उद्योग मन्त्रालयले ७५ वटै जिल्लाका एकएकजना उत्कृष्ट महिलालाई पुरस्कृत गरेको छ। ढकाल कास्कीबाट उत्कृष्ट महिला उद्यमीका रुपमा छनोट भएकी हुन्।

ढकालले करिब एक दशकदेखि रेन्बो ह्यान्डिक्राफ्ट उद्योगमार्फत महिलाको सिप विकास गराउँदै आएकी थिइन्। लेकसाइडस्थित उक्त उद्योगमा एक सय २५ जना महिला कामदार रहेका छन्। उद्योगमा छ हजारदेखि १८ हजारसम्म तलबमा महिलाहरुले काम गदै आएका छन्।

एकल, विपन्न, अपहेलित र अप्ठेरोमा परेका महिलालाई उद्योगबाट सिलाई, कटिङ, तान बुन्नेलगायत तालिम निःशुल्क दिँदै आत्मनिर्भर बनाउने जमको गदै आएको ढकालले जनाइन्। पुरस्कृत भएपछि प्रतिक्रिया दिँदै उनले भनिन्-‘पुरस्कार र सम्मानले मलाई खुसीमात्रै बनाएको छैन, थप जिम्मेवारीबोध पनि गराएको छ।’

पुरस्कृत ढकाल रेन्बो उद्योगको सञ्चालक हुन्। समाजसेवी महिलाका रुपमा पोखरामा चिरपरिचित ढकाल राजनीतिमा पनि सक्रिय छन्। उनी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत हुन्। मन्त्रालयले राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रममार्फत देशैभरीका उत्कृष्ट महिला उद्यमीलाई सामूहिकरुपमा सम्मान र पुरस्कृत गरेको थियो। उनीहरुलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले पुरस्कृत उद्यमीलाई बधाई तथा शुभकामना दिँदै प्रशंसा गरेका थिए।

- एजेन्सी