बिखर्चीको ३६ औं कृति काव्यकुसुम लोकार्पण

पोखरा, ३० असार। साहित्यकार सूर्य खड्का बिखर्चीको ३६ औं काव्यकृति काव्यकुसुम लोकार्पण गरिएको छ। बिखर्चीले २०४ औं भानु जयन्तीको अवसर पारेर कृति बजारमा ल्याएका हुन्।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले कृतिको लोकार्पण गरेका थिए।

प्रमुख अतिथि पौडेलले बिखर्चीका कृति आकारमा साना भए तापनि उत्कृष्ट भाषाशैली र भावपूर्ण संयोजनले कृतिले पाठकको मन तान्ने बताए।

कृतिको टिप्पणी गदै समालोचक मदन भण्डारीले सरल लेखन नै बोधगम्य हुने बताए। उनले बिखर्ची सरल मान्छे भएकाले उनको लेखनलाई कसैको टेको लगाउन आवश्यक नरहेको र टेको लगाइएका चिरस्थायी नहुने बताए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले बिखर्चीको लेखनले आफ्नो जीवनमा अटुट प्रभाव पारेको बताए।

कृतिका स्रष्टा बिखर्चीले आफू सानै हुँदा आमाले हातमा कलम नटुटोस् भनेर दिएको आशीर्वादले आजसम्म कलम नटुटेको बताउँदै राजनीतिमा लागे पनि साहित्य नै ठूलो हुने बताए।

गजल सन्ध्या पोखराका पूर्व सहसचिव विष्णुप्रसाद बास्तोलाले साहित्यकार साथीको संगतले आफूलाई सोही मार्गमा डोर्‍याउँदै ल्याएको बताए। स्वतन्त्र पत्रकार संघ कास्कीका कोषाध्यक्ष तीलक थापाले विगतमा बिखर्ची नाम सुन्दा अनौठो लाग्ने गरेको र पछिल्लो समय उनीसँगको संगतले साहित्यिक यात्रामा रुची जगाएको बताए। समाजसेवी शिव केसीले नेपाली भाषाको रक्षाका लागि सबैले कमल चलाउन आवश्यक रहेको बताए। समारोहमा अनु गिरी र इन्द्र बरालले आफ्नो प्रस्तुति राखेका थिए।

- अादर्श समाज सम्वाददाता