मिस पोखरा-२०१७ को तयारी

पोखरा, ३० असार। जेसिआई पोखराले यस वर्ष पनि मिस पोखरा-२०१७ गर्ने भएको छ। युवतिमा अन्तरनिहीत क्षमता र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो।

प्रतियोगिताले युवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा सघाउनुको साथै सामाजिक उत्तरदायित्व निर्वाहमा समेत प्रेरित गर्ने अपेक्षा गरिएको छ।

जेसिआई पोखराले पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आवश्यक तयारी शुरु गरेको जनाउँदै आवेदन र्फम खुल्ला गरेको छ।

विभिन्न अडिशनमार्फत प्रतिस्पर्धी छनोट गरी भदौ ६ गतेदेखि अभिमुखीकरण, प्रशिक्षण, नेतृत्व विकाससम्बन्धी तालिम, अभ्यास, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलको अध्ययन अवलोकन भ्रमण गराइने प्रतियोगिता मूलसंयोजक शिवप्रसाद सापकोटाले बताए।

नवौ संस्करणको प्रतियोगितामा ३५ बढी युवती सहभागी हुने आयोजकको अपेक्षा छ। विभिन्न चरणका अडिसनपछि २०/२२ जनालाई मात्र अन्तिम प्रतिस्पर्धाका उतार्ने बताइएको छ। देशभरका १८ देखि २४ वर्ष उमेरका पाँच फुट चार इञ्च उचाई भएका अविवाहित युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा असोज ५ मा पोखरा सभागृहमा हुनेछ। विजेतालाई स्कुटरसहित गिफ्ट हृयाम्पर प्रदान गरिने छ।

प्रतियोगिता सम्पन्न गर्न २४ लाख ८५ खर्च लाग्ने र प्रायोजक तथा टिकट बिक्रीबाट २८ लाख ७० हजार आम्दानी हुन अनुमान गरिएको छ।

जेसिआई पोखराका अध्यक्ष शिवप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव मीनराज खड्का, कानुनी सल्लाहकार शालिकराम गिरी, मिस पोखरा-२०१६ सदीक्षा पाण्डेले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता