छन्दोबद्ध कवितामा भानु सम्झदै

पोखरा, २९ असार।  आदिकवि भानुभक्त आचार्यको २०४औ जन्मजयन्तीका अवसरमा प्याब्सन, प्रदेश नं.४ को आयोजनामा माध्यमिक विद्यालयस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता भएको छ।

प्रतियोगितामा डायमण्ड माविकी छात्रा सम्झना पराजुली प्रथम, करुणानिधि एजुकेशन फाउन्डेसन-केफ) माविका छात्र उज्वल अधिकारी द्वितीय, प्रगति बोर्र्डिङ स्कुलकी छात्रा आरजु थापा तृतीय, पोखरा लर्नस र जेसीएका छात्रा सवीना पौडेल र पल्लवी बरालले सान्त्वना भए।

विद्यालय तहका विद्यार्थीहरूमा छन्दका कविताप्रति रुचि जगाउन र नेपाली भाषामा रामायण, भक्तमाला, बधुशिक्षा, प्रश्नोत्तरमाला तथा थुप्रै फुटकर कविता रचना गरी सम्पूर्ण नेपालीका प्रेरणाका स्रोत बन्न पुगेका आदिकवि भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो।

प्रमुख अतिथि प्याब्सन केन्द्रीय उपाध्यक्ष पुष्पराज बरालले प्रतियोगिता उद्घाटन गर्दै भानुभक्तको सम्मानमा तथा विद्यार्थीहरुमा निहित छन्दोबद्ध कविता वाचन क्षमता प्रष्फुटीकरण एवम् छन्दप्रति मोह जगाउने उद्देश्यले आयोजना भएको प्रतियोगिता ज्यादै फलदायी भएको बताउँदै उनले भानुभक्तले नेपाली भाषा र कविता क्षेत्रमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।

निर्णायकमा नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष लोकचन्द्र खनाल, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक भोलानारायण रेग्मी तथा कवि देवीरमण तिवारी “अल्पज्ञानी” रहेका थिए।

उक्त अवसरमा प्याब्सन प्रदेश ४ का अध्यक्ष माधवशरण उपाध्याय कवि नुमराज बराल, छन्दिका घिमिरे, लोकचन्द्र खनाल, अल्पज्ञानीलगायतका वक्ताहरुले छन्दका कविता वाचन गर्नुका साथै आदिकविको योगदानमाथि प्रकाश पारे।प्याब्सन कास्कीका अध्यक्ष एवम् प्रदेश ४ का सदस्य दिनेशकुमार श्रेष्ठले स्वा मन्तव्य, डिल्लीराम अर्याल, भानुभक्त पोख्रेल र नारायण पराजुलीले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका थिए।प्रदेश नं. ४ का सदस्य एवम् कार्यक्रमका संयोजक निदेशकुमार कोइरालाको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगिताको सञ्चालन प्रदेश नं. ४ का सहसचिव एवम् अतिरिक्त क्रियाकलाप प्रमुख लोकराज भण्डारीले गरेका थिए।

- एजेन्सी