संशोधन अघि नबढ्ने, राजपामा फेरि अन्योल

काठमाडौं, २८ असार । संविधान संशोधन प्रस्ताव संसद्मा तत्काल अघि नबढ्ने भएपछि राष्ट्रिय जनता पार्टीआगमी निर्वाचनमा सहभागी हुने नहुनेबारे फेरि अन्यौलमा परेको छ । दलहरुबीच सोमबार र मंगलबार चरणबद्धरुपमा भएको छलफलपछि पनि संशोधनको पक्षमा बहुमत पुग्न नसकिने भएपछि सत्तारुढ दलले प्रस्ताव संसद्मा पेस नगर्ने तयारी गरेका छन् । काँग्रेस र माओवादीले राजपालाई संसद्मा प्रस्ताव असफल भए पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता आएमात्र अघि बढाउने शर्त अघि सारेपछि राजपामा अन्योलता देखिएको हो ।

मंगलबार साँझ बालुवाटारमा कां’ग्रेस, माओवादी केन्द्र र राजपाबीच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्न कठिन भएको जानकारी दिएका थिए । एमालेले अब अको संसदीय निर्वाचनअघि संशोधनमा छलफल गर्न र त्यसलाई अघि बढाउन आफूहरू तयार नरहेको जानकारी काँग्रेस र माओवादी केन्द्रका नेताहरूसँगको बैठकमा जानकारी गराएको थिए ।

यता, राप्रपाको मूलनेतृत्व संविधान संशोधनका लागि तयार देखिए पनि सो पार्टीभत्र पनि करिब एक दर्जन सांसद संशोधनको विपक्षमा छन् । गत वैशाख २० गते पनि सरकारले संशोधन विधेयक मतदानका लागि संसद्मा प्रस्तुत गर्ने तयारी गरेपछि राप्रपाका १० जना सांसद अनुपस्थित भएका थिए । तर बुधबार भएको एक कार्यक्रममा राप्रपाका प्रवत्ता भुवन पाठकले भने आफ्ना सबै साँसदहरुले संशोधनको पक्षमा मतदान गर्ने दावी गरेका छन् ।

प्रदेश नम्बर २ मा असोज २ गते गर्ने भनिएको तेस्रो चरणको निर्वाचनअघि नै संशोधन गर्न सम्भव बन्ने अवस्था विकसित बन्यो भने त्यसका लागि पनि प्रयास गर्ने तर अहिलेलाई संशोधन सम्भव भएन भन्ने मानेरै अघि बढ्नु पर्ने सत्तारुढ दलका नेताहरुलले राजपालाई बताएका छन् । संशोधन पास भए पनि फेल भए पनि संसद्मा अहिले नै भोटिङ होस् भन्ने चाहेको भए आफूहरू त्यसका लागि तयार रहेको काँग्रेस माओवादीको भनाई छ । यसमा राजपा नेताहरू अन्योलमा रहेका छन् ।   ‘मतदानमा पठाउन भनौं, संशोधन फेल हुन्छ’-एक राजपा नेताले भने-‘नपठाउ संशोधनको टुंगो नलागी कसरी चुनावमा जाने-’

मधेसकै दुर्इ प्रमुख पार्टीरू नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम यस अघि नै चुनावमा गइसकेका छन्।

राजपाले दुवै फोरमलाई मधेसी जनताको हितमा सम्झौता गरेर चुनावमा गएको आरोप लगाउँदै आएको छ । अहिले आफूहरु पनि संशोधनबिनै चुनावमा जानुपर्ने अवस्था आएपछि राजपा ठूलो चेपुवामा परेको छ । यो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा राजपा आफैं पनि विभाजित छ । संविधान संशोधनको एजेन्डालाई थाती राखेर जनतामा जानुपर्ने एकथरी मत छ । संविधान संशोधन नगरी जनतामा जानु आत्मघात हुने तर्क पनि पार्टीभित्र उत्तिकै छ । राजपाका बहुसंख्यक नेता कुनै उपाय निकालेर चुनावमा जाने पक्षमै देखिन्छन् । तर त्यो उपाय के हो भन्ने खुट्याउन सकेका छैनन् ।

काठमाडौमा बुधबार भएको एक कार्यक्रममा राजपाका नेता वृजेशकुमार गुप्ताले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित नभए आफूहरु चुनावमा भाग नलिने स्पष्ट पारे ।उनले भने-‘संविधान संशोधन भएन भने हामी कुनै पनि निर्वाचनमा भाग लिँदैनौं, राजपाले चुनावमा भाग लिँदैन् ।’

गुप्ताले संविधान जारी गर्दा तीन ठूला दलका नेताहरुले सदनमा सम्बोधन गरेर संविधानमा केही त्रुटिहरु भएका छन् र यसलाई सम्बोधन गर्ने भनेर वाचा गरेको स्मरण गराउँदै सदनमा बोलेको कुरा मसी सुक्न नपाउँदै भुल्न पाउँदैन । उनले दोस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिएको समेत जिकिर गरे । उनले भने-‘५ नम्बर प्रदेशमा केही साथीहरुले स्वतन्त्ररुपमा निर्वाचनमा भाग लिएका हुन् तर राजपाले निर्वाचनमा भाग लिएको होइन ।’

- अादर्श समाज सम्वाददाता