काँग्रेसहरु, आस र त्रासमा नबसः नेता पौडेल

पोखरा, २५ असार। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसहरु अब आस र त्रासमा बस्न नहुने औंल्याएका छन्। आस र त्रासलाई त्यागेर काँग्रेसले पार्टीलाई गलत बाटोमा जानबाट रोक्नुपर्ने उनको तर्क थियो। उनले भने-‘आस र त्रासमा बाँचेको काँग्रेसको जीवनले पार्टीको उन्नती नहुने पक्का छ।’

कास्कीको लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय नवराज कुँवरको १३ औं तिथिको अवसरमा पोखरा आएका वरिष्ठ नेता पौडेलले काँग्रेसको विकल्प काँग्रेसभित्रैबाट खोज्नुपर्ने उल्लेख गरे। ‘जनताले काँग्रेसको विकल्प खोज्न नपरोस’-उनले भने-‘काँगे्रसको विकल्प जनताले काँग्रेसभित्रैबाट पाउनुपर्छ। काँग्रेसलाई बाहिरबाट खोज्न नपरोस।’

नेता पौडेलले जनताबीच पुगेर आफ्नो कुरा राख्न नसक्नु काँग्रेसको मुख्य कमजोरी रहेको औंल्याए। काँग्रेसले अब सत्य कुरा बोल्नुपर्नेमा पौडेलले जोड दिए।  ‘हामीले आफ्नो कुरा जनतालाई भन्न सक्दैनौं’-उनले भने-‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन।’

पौडेलले काँग्रेसभित्रको धेरै कमजोरीबीच काँग्रेसको पक्षमा नराम्रो प्रतिफल आएको जिकिर गरे। काँग्रेस चुप लागेर बसेकै कारण कम्युनिष्टहरुले हल्लै हल्लामा चुनाव जितेको पौडेलको तर्क थियो। उनले भने-‘प्रपोगण्डा गरेर कम्युनिष्टले देश नै कब्जा गरिदियो।’

पौडेलले ०४८ सालदेखि काँग्रेसले प्रत्येक गाउँमा ग्रामीण स्वावलम्बन कार्यक्रम लिएर गएको बताए। गाउँगाउँमा काँग्रेसले ग्रामीण बाटो, बिजुली, पानी, शिक्षा र स्वास्थ्यको सेवा पुर्‍याएको उनले दावी गरे। पौडेलले  प्रश्न गरे-‘एमालेले गाएको आफ्नो गाउँ, आफै बनाउँको गीत सुनेर काँग्रेस किन चुप लागेर बस्यो -’

उनले काँग्रेस पार्टीलाई सच्याउनुपर्ने बताए। पार्टीभत्र सही मूल्याङ्कन हुनुपर्ने नेता पौडेलको दावी थियो। पार्टीको नेता र कार्यकर्ता दुबैको सही मूल्याङ्कन हुनुपर्नेमा उनले जिकिर गरे। पार्टीभत्रका नेता र कार्यकर्ताहरुको सही मूल्याङ्कन हुन सकेन भने पार्टीको अन्त्य हुने उनको तर्क थियो।

पौडेलले विना पूर्वाधार स्थानीय तह निर्माण गरेकोमा आपत्ति जनाए। पोखरामा महानगरपालिकाको पूर्वाधार नबनाई महानगर घोषणा गरेकोमा समेत पौडेलको आपत्ति थियो।

कार्यक्रममा संवाद नेपालका अध्यक्ष बैकुण्ठ शर्माले स्व. कुँवरको जीवनीमाथि प्रकाश पार्दै २००७ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका स्व. कुँवर उक्त परिवर्तनपछिको प्रतिक्रान्तिको विरोधमा खरो उत्रने योद्धा रहेको चर्चा गरे।

स्वर्गीय कुँवरका छोरा रामजी कुँवरले पिता लोकतान्त्रिक एवम् प्रजातन्त्रको लागि अथक योद्ध रहेको स्मरण गरे। उनले पिताबाट नै आफू र घर परिवारलाई लोकतान्त्रिक आन्दोलमा लाग्न प्रेरणा मिलेको बताए।

व्यवस्थापिक सांसद यज्ञबहादुर थापाले पहिलो स्थानीय तहको निर्वाचनले काँग्रेसलाई स्तब्ध बनाएको बताए। स्थानीय तहमा काँग्रेस कार्यकर्ताहरुको पार्टीले उचित मूल्याड्ढन गर्न नसकेका कारण काँग्रेसको हार भएको उनको तर्क थियो।

सांसद शारदा पौडेलले काँग्रेसका विचार र सिद्धान्तलाई अघि लिएर जान सकिएन भने प्रजातान्त्रिक योद्धाहरुको पार्टी्रतिको योगदान खेर जाने औंल्याइन्। नेपाली काँग्रेस, पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का सभापति बलराम गिरी लगायतले बोलेका थिए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव सुदिपमोहन भट्टराईले गरेका थिए।

- अादर्श समाज सम्वाददाता