पूजा र पलको रोमान्स प्रतीक्षा

पोखरा, २५ असार। ‘म यस्तो गीत गाउँछु फिल्म युनिट यतिखेर ३० असार नजिकिँदा फिल्म प्रचारको लागि देश दौडाहामा छ। फिल्मका निर्मातासमेत रहेकी कलाकार पूजा शर्मा र कलाकार पल शाहले आइतबार पोखराका पत्रकारसँग भेटघाट गरे। उनीहरुले फिल्म लभ स्टोरीमा आधारित रहेको दर्शकले औधी रुचाउने उनीहरुको विश्वास छ।

फिल्म पहिलो पटक लगानी गरेकी पूजाले अघिल्लो फिल्मलाई जस्तै यस फिल्मलाई पनि दर्शकले रुचाउनेमा आशावादी देखिइन्। उनले आफू निर्माता भन्दा पनि कलाकार नै भन्न रुचाउने उल्लेख गर्दै भनिन्, आशा छ, तपाई  (दर्शक) ले यसपाली पनि मलाई माया गर्नुहुनेछ।

अपर मुस्ताङमा पुगेर खिचेको पहिलो फिल्म दाबी गर्दै उनले फिल्ममा गीत संगीतका अलावा, सुन्दर दृश्य र लभ स्टोरी गज्जबको रहेको बताइन्। पहिलो पटक फिल्ममा जोडी बाँधेको पूजा र पलको केमेष्ट्रीले बजार यतिखेर तातेको छ।

उता, कलाकार पल शाहले २ वर्षपछि फिल्ममा देखिएको भन्दै उनले पल र छायाँ -पूजा) को केमेष्टी जमेको र दर्शक हलसम्म आउनुहुनेछ भने। संचारकर्मीको जिज्ञासामा पूजा शर्माले पललाई मन पराउने र फिल्ममा पनि आफ्नो निकै रोमान्स रहेको बताइन्।

सुदर्शन थापाको निर्देशनमा बनेको उक्त फिल्म यसअघि हिट फिल्म प्रेमगीतको शीर्षगीत म यस्तो गीत गाउँछु सापटी लिएर फिल्म बनाइएको हो। यस विषयमा कार्यक्रममा उपस्थित निर्देशक सोभित बस्नेतले पनि स्वीकारे।

फिल्ममा पूजा र सुदर्शनको संयुक्त लगानी छ। पोखरा आसपासमा ६० प्रतिशत बढी छायाँकन रहेको उक्त फिल्ममा पल र पूजासहित नायक सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय छ।

प्रितम पाण्डेको सम्पादन रहेको फिल्मलाई संजय लामाले खिचेका हुन्। पटकथामा निर्देशक थापालाई दिनेश न्यौपानेले सघाएका छन्। फिल्म अल नेपाल रिलिज हुँदैछ। फिल्म युनिट धरान, हेटौडा, नारायणगढ, बुटवल, स्याङ्जा हुँदै पोखरा आएको हो।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम रसाइलीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुसन घिमिरेले चलाएका थिए।

कार्यक्रम सकिँदा नसकिँदै पोखरेली केही पत्रकारका कारण कलाकार पूजा र पल ‘अन्तर्वार्ता’ भन्दै घेरिन पुगेका थिए।

- अादर्श समाज सम्वाददाता