संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री सक्रिय

काठमाडौं, २४ असार। असारभित्रै संविधान संशोधनमा सहमति जुटाउने राजपालाई आश्वासन दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले संशोधनमा सहयोग गर्न अन्य दलहरुसँग छलफल शुरु गरेका छन्।

संशोधनका विषयमा असन्तुष्ट दल राजपाका नेताहरुसँग शुक्रबार छलफल गरेका प्रधानमन्त्री देउवाले शनिबार बिहान संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँग छलफल गरेका हुन्। छलफलमा संशोधनमा राप्रपाले सकारात्मक जवाफ दिएको बताइएको छ।

संविधान संशोधन प्रस्ताव पारित गर्न दुर्इ तिहाई बहुमत आवश्यक पर्ने भएकोले प्रधानमन्त्री देउवाले त्यसका लागि राजनीतिक दलहरुसँग छलफल शुरु गरेका हुन्।

राप्रपाका शीर्ष नेताहरुलाई प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएर संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारलाई सहयोग गर्न आग्रह गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ।

राप्रपासँगको छलफलमा पनि प्रधानमन्त्री देउवाले संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीले संविधान संशोधन गर्न सहयोग गर्न राप्रपाका नेताहरुलाई आग्रह गर्नुभएको छ’-देउवा निकट स्रोतले भन्यो।

छलफलमा सहभागी राप्रपाका अध्यक्ष कमल थापाले संविधान संशोधन, मन्त्रिपरिषद विस्तारलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए। उनले भेटमा प्रधानमन्त्री देउवाले संविधान संशोधन प्रस्ताव पासका लागि सहयोग गर्न आफूहरुलाई आग्रह गरेको बताए।

‘प्रधानमन्त्रीज्यूले संविधान संशोधनका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ, हामीले यसबारे पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्छौ भनेका छौं’-थापाले भने।

बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई सरकार सञ्चालनमा सहयोग गर्न पनि राप्रपालाई आग्रह गरेका थिए। अध्यक्ष थापाका अनुसार प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा आएर सहयोग गर्ने आग्रह गरेका हुन्। थापाले भने-‘प्रधानमन्त्रीले राप्रपा पनि सरकारमा आउनुपर्‍यो भन्नुभएको छ। हामीले यसबारे पार्टीको बैठक बसेर निर्णय दिन्छौं भनेका छौं।’

थापाले सरकारमा जाने विषयमा आफूहरु सकारात्मक रहेको बताए। उनले भने-‘हामीले सरकारमा जाने विषयमा अन्तिम निर्णय त गरिसकेका छैनौ तर यसबारे सकारात्मक नै छौं।’ उनले सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र छलफल गरेर निर्णय दिने प्रधानमन्त्रीलाई जवाफ दिएको बताए।

राप्रपाले उपप्रधानसहित चारवटा मन्त्रालय दिएमात्रै सरकारमा सहभागी हुने बताइसकेको छ। बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा राप्रपाका तर्फबाट अध्यक्ष थापा र वरिष्ठ नेता पशुपतिशमशेर जबरा सहभागी थिए।

- अादर्श समाज सम्वाददाता