प्रथम गल्याङ रमाइलो मेला

गल्याङ, २२ असार। स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ इकाइ समिति गल्याङको आयोजनामा प्रथम गल्याङ सांस्कृतिक महोत्सव तथा रमाइलो मेला गल्याङमा शुरु भएको छ।

आगामी साउन १ गतेसम्म सञ्चालन हुने मेला उद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले मेला महोत्सवले गल्याङको पहिचानलाई माथि उठाउने बताए।

उनले आर्थिक, सामाजिक रुपमा समेत विकास हुने भएकाले यस्ता रचनात्मक कार्य बेला बेलामा हुनुपर्नेमा जोड दिए।

उनले यस्ता कार्यका माध्यमबाट निजी क्षेत्रले देशको विकास निर्माण अभियानमा जुटेको र गल्याङले पनि मेला महोत्सवबाट बचेको रकम सामाजिक कार्य गर्न आग्रह गरे।

गल्याङ नगरपालिकाका उपप्रमुख देवीसरा थापामगरले मेला तथा महोत्सव गल्याङको गरिमा भएको भन्दै त्यसलाई सफल पार्ने कार्यमा सबै एकताका साथ लाग्नसमेत आग्रह गरिन्।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य श्यामप्रसाद बस्याल, नेकपा एमाले प्रदेश नं ४का संयोजक पुण्यप्रसाद भुषाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्रबहादुर थापामगर, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष महेश भट्टराई, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ इकाइ समिति गल्याङका पूर्व सभापति सूर्यप्रसाद चापागाई, गल्याङ नगर विकास समितिका अध्यक्ष किसान श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए।

मेलामा पहिलो दिन कलाकार पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, चन्द्रा कार्कीको वेजोड सांगीतिक प्रस्तुतिमा दर्शक रमाएका थिए।

गल्याङ नगरपालिकाको विकास र सुरक्षित नगरपालिका निर्माण गर्न मेलाले सहयोग पुर्‍याउने आयोजकको अपेक्षा छ।

मेलाको आम्दानीले गल्याङ बजारमा सिसी क्यामेरा जडान गर्ने योजना रहेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ इकाइ समिति गल्याङका अध्यक्ष लेखनाथ भट्टराईले जानकारी गराए।

मेलामा ३० हजार दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा छ। मेलाबाट ५० लाख रुपैयाँ आम्दानी हुने र ४० हजार खर्च हुने अनुमान छ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ इकाइ समिति स्याङ्जाका सभापति लेखनाथ भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष युक्तप्रसाद खनालले र सञ्चालन संस्थाका सहसचिव यज्ञप्रसाद अर्यालले गरेेका थिए।

- अादर्श समाज सम्वाददाता