पोखरा खेलकुदको हव : सचिव दाहाल

पोखरा, २० असार । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । पोखरा साहसिक खेलका लागि नेपालकै उत्कृष्ट रहेको उल्लेख गर्दै सरकारले पोखरालाई खेलकुदको हव बनाउन प्राथमिकतामा राखेको उल्लेख गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले पोखरामा मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दाहालले भने-‘सबै दृष्टिकोणले खेलकुदका लागि पोखरा उपयुक्त छ, यसलाई खेलकुदको राजधानी बनाउनुपर्छ । यसलाई खेलकुदको हव बनाई छिमेकी जिल्लामा पनि खेलकुदको विकासमा लाग्नुपर्छ ।’

उनले पोखरालाई साहसिक खेलको केन्द्र बनाउन सरकारको मात्र नभई निजी क्षेत्र, यहाँका खेलप्रेमी महानुभाव तथा व्यवसायीबीच एकताको खाँचो रहेको उनले औल्याए । सरकारको काम कार्यविधि बनाउने, नियमन गर्ने रहेको उल्लेख गर्दै उनले खेलको विकासमा सबैको उत्तिकै दायित्व रहेको उनको भनाइ छ । सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रंगशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिए । पोखरा रंगशालाको पूर्वाधार विकासका लागि मन्त्रालयले तीन करोड ५० लाख छुट्टाएको बताए । पोखरामा साहसिक खेल व्यवस्थित गर्न राष्ट्रिय खेलकुद परिषद्ले ध्यान पुर्‍याउनुपर्ने उनले जोड दिए ।

सन् २०१९ को मार्चमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता -साग) का आधा दर्जन खेल पोखरामा हुने जानकारी दिँदै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

पोखरामा बन्दै गरेका पूर्वाधार समयमै तयार परिनुपर्नेमा जोड दिंदै उनले भने, यसो भयो भनेमात्र यहाँ उक्त प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । सागमा पोखरामा भलिबल, महिला फुटबल, आर्चरीलगायत आधा दर्जन खेल सञ्चालनको तयारी छ ।

अबको खेलकुद संघीय संरचनाअनुसार नै अगाडि बढाउने भन्दै पोखरामा आगामी दिनमा क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदको व्यवस्थापन, प्रतिबद्धता र इमान्दारिता जति हुनुपर्ने हो त्यति नभएकाले यस्तो भएको भन्दै उनले आफूले असक्षम नभन्ने तर इच्छाशक्ति भने राखेपमा नभएको प्रष्ट पारे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले पश्चिमाञ्चलमा मुख्य चार योजना प्राथमिकताका साथ अघि बढाइएको जनाए । पोखरा रंगशालाभित्रको अन्तर्राष्ट्रियस्तरको प्यारापिट, मनाङमा हाइ अल्टिच्युड ट्रेनिङ सेण्टर, बाग्ालुङमा तेक्वान्दो हल र रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणलाई समितिले प्राथमिकतामा राखेर कार्य अघि बढाएको उनको भनाइ छ । पोखरामा मिडिया सेन्टर निर्माणका लागि २० लाख विनियोजन भएको जानकारी गराए । मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता