उत्साह साथ उम्मेदवारी दर्ता

काठमाडौं, ४ जेठ। दोस्रो चरणमा स्थानीय तहको निर्वाचनका लागि आइतबार प्रदेश नम्बर १, ५ र ७ मा उम्मेदवारी दर्ता केही छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा मनोनयन दर्ता सम्पन्‍न भएको हो।

चुनाव बहिष्कार गर्ने निर्णय गरेको राजपाका केही स्थानीय नेताहरूसमेत स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेका छन् भने रोल्पमा माओवादी विप्लवतर्फबाट पनि स्वतन्‍त्र उम्मेदवारी परेको जनाइएको छ। उम्मेद्वारी मनोनयनमा अवरोध गर्न राष्ट्रिय जनता पार्टीले आइतबार तराई मधेसमा बन्द आह्वान गरे पनि तीन वटै प्रदेशमा दलहरू बाजागाजा र समर्थकको जुलससहित निर्वाचन कार्यालय पुगेका थिए। केही जिल्लामा राजपाका कार्यकर्ताले अवरोधको प्रयास गरे पनि आन्दोलनको खासै प्रभाव देखिएन। कपिलवस्तुको  वाणगंगामा बम विस्फोट भएको बाहेक अधिकाँश क्षेत्रमा शान्तिपूर्ण रहेको थियो।

केही स्थानमा मधेसवादी दलहरूले अवरोध गर्न खोजे पनि स्थानीयले प्रतिकार गरेका थए भने सुरक्षा व्यवस्था कडा रहेकोले निर्वाचनको कार्यक्रममा बाधा नभएको निर्वाचन कार्यालयहरूले जनाएका छन्। दोस्रो चरणमा ३ सय ३४ स्थानीय तहमा मतदान हुँदैछ। जसमा एउटा महानगरपालिका, सातवटा उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकाका छन्। चुनावमा ६४ लाख ३२ हजार सात सय ६५ मतदाता छन्। चुनावबाट मेयर-उपमेयर, प्रमुख-उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन्। मतदान सम्पन्न गराउन सुरक्षाकर्मीबाहेक ६६ हजार नौ सय कर्मचारी खटिनेछन् ।

पहिलो चरणमा वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ का दुर्इ सय ८३ गाउँपालिका र नगरपालिकामा निर्वाचन भएको थियो। भरतपुर महानगरपालिकाबाहेक सबैतिर जनप्रतिनिधि बहाल भइसकेका छन्। प्रमुख पदमा महिला उठाउनुपर्ने कानुनी प्रावधानले नगरपालिका प्रमुखमा चार, उपप्रमुखमा ८७, गाउँपालिकाको अध्यक्षमा आठ र उपाध्यक्षमा एक सय ६४ जना महिला निर्वाचित भइसकेका छन्। सरकारले २ नम्बर प्रदेशको निर्वाचन भने असोज २ का लागि सारिएको छ।

रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि असार १४ को  चुनावमा भाग लिएर देशभर गरेको भनिएको स्थानीय चुनाव बहिस्कारको आफ्नै नीतिलाई खण्डन गरेको छ। विप्लव समूहको नेकपाले रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा रोल्पाको उवाका रैथाने भक्तबहादुर र्घर्तीलाई उम्मेदवार स्वतन्त्र उम्मेदवार बनाएको छ। नेकपा निर्वाचन आयोगमा दल दर्ता नभएकाले र्घर्तीको स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको हो। प्रदेश १, ५ र ७ मा स्थानीय तहको चुनावी कार्यसूची राजपाको बन्द तथा हडतालका बाबजुद पनि सुचारु हुनु एकातिर सरकार प्रमुख देउवालाई तमाम आलोचना र प्रहारबीच मिलेको जनसमथनको राहत हो भने राजपालाई चुनावी दौडमा सामेल हुनुपर्ने दबाब पनि भएको छ। उसले जनताको चुनावी मोहका रापका आधारमा पनि अब स्थानीय चुनाव बहिष्कार वा भाँड्ने विरोधको नीतिमा अब जनताले साथ नदिने स्पष्ट भएको विश्लेषकले बताएका छन्। आयोगले विज्ञप्ति जारी गरी मनोनयन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। असार १४ गते दोस्रो चरणमा निर्वाचन हुने ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहको निर्वाचनका लागि भएको उम्मेद्वारी मनोनयन पत्र दर्ता कार्य राजनीतिक दलहरूको सहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। बिहान ८ बजेदेखि  अपरान्हृ ४ बजेसम्म सञ्चालन भएको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेद्वारले मर्यादित तथा व्यवस्थित तरिकाबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेद्वारी दर्ता गराएको आयोगको भनाइ छ।

यसैबीच, कपिलवस्तुको वाणगंगा नगरपालिका ४ गजेहडामा बम बिस्फोट भएको छ। बिस्फोटबाट नौ जना घाइते भएका छन्।  नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ताको क्रम चलिरहेको समयमा विस्फोट भएको हो।

- अादर्श समाज सम्वाददाता