कास्कीमा सात सय ८० ‘ए प्लस’

४०५ माथिल्लो कक्षा पढ्न अयोग्य

पोखरा, ४ असार । शिक्षा ऐनको संशोधनपछि परीक्षाको नाम नै परिवर्तन भएर एसएलसीबाट एसर्इइ बन्यो।  ऐनले कक्षा ८ देखि १२ सम्मको शिक्षालाई विद्यालय शिक्षा बनाएसँगै गत वर्षदेखि एसर्इइ परीक्षा शुरु भएको हो। यसको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले पाएको छ।

विद्यार्थीको लब्धांकपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अंक (जीपीए) दिइने अक्षरांकन (लेटर ग्रेडिङ) का कारण नतिजा सुधारोन्मुख छ तर अझै पनि विद्यार्थीको मार्कसिटमा पास फेल उल्लेख नभए पनि सबैले माथिल्लो कक्षा पढ्न भने पाउँदैनन्। विद्यार्थीले ११ कक्षामा भर्ना हुन १.६ जीपीए ल्याउनैपर्ने अवस्था छ। शुक्रबार प्रकाशित परीक्षाफल अनुसार कास्कीमा एसर्इइमा सहभागी चार सय पाँच जना विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन्।

परीक्षामा मुलुकभर चार लाख ४५ हजार पाँच सय ६४ विद्यार्थी सहभागी भएकोमा कास्कीबाट मात्रै १० हजार चार सय ८२ जना सहभागी थिए। यीमध्ये चार सय पाँच जना विद्यार्थीले १.६ जीपीए भन्दा कम ग्रेड प्राप्त गरेका हुन्। यद्यपि उनीहरु ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सक्नेछन्।

कास्कीमा सात सय ८० जनाले ए प्लस अर्थात् अति उत्तम ग्रेड प्राप्त गरेका छन्। मुलुकभरमा दुर्इ जनाले अधिकतम् ४ जीपीए प्राप्त गरेकोमा कास्कीमा कसैले पनि यतिको जीपीए प्राप्त गरेका छैनन्। भक्तपुरका मनिष चौलागाईं र बुटवलका आदर्श पाण्डेले ४ जीपीए ल्याएका हुन्।

कास्की जिल्लामा दुर्इ जनाले उच्चतम् ३.९५ जीपीए ल्याएका छन्। जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार लिटिल स्टेप बोर्डिङ र मर्निङ स्टारका विद्यार्थीले कास्कीमा ३.९५ जीपीए ल्याएका हुन्। यस्तै, छ जनाले ३.९ जीपीए प्राप्त गरेका छन्। समता शिक्षा निकेतनका दुर्इ जना, मर्निङ स्टार, हिलप्वोर्इन्ट, शीतलादेवी सामुदायिक र प्रतिभा बोर्डिङका एक एक जनाले ३.९ जीपीए ल्याएका हुन्। यस्तै, ४५ जनाले ३.८५ जीपीए, एक सय १८ जनाले ३.८ जीपीए प्राप्त गरेका छन्। एक सय ६३ जनाले ३.७५ जीपीए ल्याएका छन्।

यसैगरी, दुर्इ सय १८ जनाले ३.७ जीपीए प्राप्त गरेका छन् भने दुर्इ सय २८ जनाले ३.६५ जीपीएमाथि प्राप्त गर्दै ए प्लस ग्रेडमा स्थान सुरक्षित गरेका छन्। ३.६५ देखि ४ जिपिए ल्याउने ए प्लस ग्रेडमा रहन्छन्। यस्तै, दुर्इ हजार दुर्इ सय ८९ जनाले ए ग्रेड प्राप्त गरेका छन्। ३.२५ देखि ३.६ जीपीए ल्याउने यतिको संख्यामा रहेका हुन्। बी प्लस ग्रेड ल्याउने दुर्इ हजार तीन सय पाँच छन्। उनीहरु २.८५ देखि माथि ३.२ सम्म जीपीए ल्याउने हुन्। एक हजार सात सय ८९ जनाले बी ग्रेड प्राप्त गरेका छन्। २.४५ माथि २.८ जीपीएसम्म ल्याउने यो ग्रेडअन्तर्गत पर्दछन्। एक हजार छ सय ५१ जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन्। २.०५ जीपीए देखि २.४ जीपीएसम्म ल्याउने यस ग्रेडमा पर्दछन्।

यस्तै, एक हजार एक सय ८३ विद्यार्थी १.६५ देखि २ जीपीए प्राप्त गरी सी ग्रेडमा उत्तीर्ण भएका छन्। तीन सय ४१ जना १.२५ जीपीए देखि १.६ जीपीएसम्म ल्याएर डी प्लस ग्रेडमा छन्। ०.८५ देखि १.२ जीपीए ल्याएर डी ग्रेडमा रहनेहरु २९ जना मात्रै छन्। इ ग्रेडमा ०.८ सम्म ल्याउनेहरु एक जनामात्रै छन्। एक सय सात जनाको शून्य जीपीए छ।

कतिपय कलेज र विषय हेरेर माथिल्लो कक्षामा भर्नाका लागि अलग अलग मापदण्ड पनि बनाइएकाले डी ग्रेड पाउने सबैले सबै विषयमा पढ्न भने पाउने छैनन्।  जीपीए १.६ भन्दा बढी ल्याए पनि विषयगतरूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ। सबै समूहमा सामाजिक, अंग्रेजी, नेपालीमा अनिवार्य डी प्लस ल्याउनुपर्ने हुन्छ। विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, विज्ञान र सामाजिकमा सी प्लस, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनैपर्ने हुन्छ।

त्यस्तै व्यवस्थापन, मानविकी र शिक्षाको जुनसुकै विषय पढ्न अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ। कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य हुन्छ। त्यसबाहेक तीन सय पूर्ण्ाांकको ऐच्छिक विषय पढ्नुपर्ने हुन्छ। तीन सय पूर्ण्ाांकको विषय छनोट गर्दा निश्चित विषय पढ्न तोकिएकै ग्रेड ल्याउनुपर्ने हुन्छ। व्यवस्थापनतर्फको विषय पढ्न विज्ञान र गणितमा डी प्लस ल्याउनैपर्ने हुन्छ।

ग्रेड सी र त्योभन्दा कम अंक ल्याउने विद्यार्थीले यही वर्ष सबै विषयको परीक्षा दिन पाउनेछन्। अघिल्लो वर्ष दुर्इ विषयमा ग्रेड डी रर्र् इ ल्याउन नसकेका विद्यार्थीले पुनः मौका परीक्षा दिएका थिए। यसअघि यसलाई विगतमा पूरक (मौका) परीक्षा भनिन्थ्यो तर मौका परीक्षामा दुर्इ विषयमा अनुत्तीर्ण भएकाले मात्र भाग लिने गरेकोमा यस प्रणालीमा जुनसुकै विषयमा प्राप्तांक बढाउन पाइनेछ। ग्रेड स्तरोन्नतिको परीक्षा आउँदो साउन १९ देखि २६ गतेसम्म हुने कार्यालयले जनाएको छ।

- रञ्जन अधिकारी