पत्रकारलाई गण्डकी मेडिकल कलेजको सहुलियत

पोखरा, ४ जेठ। गण्डकी मेडिकल कलेज, पोखराले पत्रकारलाई उपचारमा सहुलियत दिने भएको छ।

अस्पताल प्रशासन र  नेपाल पत्रकार महासंघ कास्कीबीच उपचार सहुलियतसम्बन्धी सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ।

कलेजतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनाल र पत्रकार महासंघ कास्कीको तर्फबाट अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

अब देशभरका पत्रकारले पत्रकार महासंघको परिचय पत्रको आधारमा उक्त अस्पतालका विभिन्न सेवामा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत पाउने छन्। ठिक १ वर्षसम्म लागू हुने सहुलियत सुविधा आइतबारदेखि नै कार्यान्वयनमा आएको छ।

सम्झौताअनुसार ल्याव टेष्टमा २५ प्रतिशत, युएसजी, एक्सरेमा २० प्रतिशत, ओटी चार्जमा २० प्रतिशत, जेनरल बेड निःशुल्क, फामेसीमा पाँच, ओपिडी र इमजेन्सी टिकटमा ५०, डेन्टल चार्जमा पाँच, क्याविन बेड चार्ज ५० प्रतिशत छुट दिइनेछ।

त्यस्तै, सिटी स्क्यान र एमआरआईमा पाँच प्रतिशत, इसिजी, इण्डोस्कोपी, क्लोनोस्कोपी र इकोमा पाँच प्रतिशत छुट दिइने छ। अस्पतालले देशभरका सञ्चयकर्तालाई पनि सहुलियत दिँदै आएको छ।

केही दिन अघिदेखि बिरामी भई सोही अस्पताल पुगेका पत्रकार प्रकाश ढकाललाई समेत अस्पतालले उपचारमा सहयोग गरेको थियो।

हस्ताक्षर समारोहमा बोल्दै गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले सहमति प्रत्येक वर्ष नवीकरण गर्दै लैजाने उल्लेख गरे।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहमतिअनुसार रिस्पोन्स गर्ने वातावरण बनाउन आग्रह गरे।

तीन सय शैयाबाट सञ्चालनमा आएको अस्पताल हाल स्तरोन्नति गर्दै पाँच सय ५० शैयामा पुगेको छ।

२० शैयाको आइसियु, पाँच शैयाको सिआइसियु, १० शैयाको पोष्ट ओप, आठ शैयाको पिआइसियु, २१ शैयाको एनआइसियु र ४४ शैयाको क्याबिन सञ्चालनमा छ।

अस्पतालबाट दैनिक करिब आठ सयले बहिरंग सेवा र तीन सयले अन्तरंग सेवा लिने गरेेका छन्।

सन् २०१० देखि प्रत्यक वर्ष ७५ जना विद्यार्थीले एमबिबिएस पढ्दै आएका छन्।

यसै शैक्षिक वर्षदेखि विडिएस, विएस्सी नर्सिङ, विएन, विपिएच, विएस्सी एमएलटी र विएस्सी एमआइटीका शैक्षिक कार्यक्रमसमेत शुरु गरेको छ। अस्पतालले गरिब तथा विपन्न वर्गका लागि चार वटा डायलोसिस मेसिनबाट डायलोसिस सेवा दिएकोमा आठ वटा डायलासिस मेसिन पुर्‍याउने लक्ष्य लिएको छ।

- अादर्श समाज सम्वाददाता