विपन्न विद्यार्थीलाई पोशाक

हेमजा, ४ असार।असल छिमेकी सहयोग संघ (गोनेसा) ले विद्यालय तहका ९९ जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।

गोनेसाले विद्यालय भर्ना सहयोग कार्यक्रमअन्तगत छोरेपाटन माविमा अध्ययनरत ४७ जना र जानकी आधारभूत विद्यालय महतगौंडामा अध्ययनरत ५२ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अविभावकलाई सचेत बन्न आग्रह गर्दै फराकिलो विचारका साथ बालबालिकाको विकासमा लाग्न सचेत गराए।

उनले पोखरा महानगरपालिकालाई सुकुम्बासीमुक्त सहर बनाउन पहल गरिने स्पष्ट पार्दै त्यसका लागि चाँडै नै प्रयास थालिने उद्घोष गरे। जिसीले समस्यामा पिल्सिएका अभिभावकले आफना बाल बच्चाको हेरचाहमा उचित ध्यान दिन नसक्ने पनि बताए।

जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले कठिन परिस्थितिका विपन्न बालबालिकालाई गोनेसाको सहयोग महत्वपूर्ण रहने दाबी गर्दै यसले ‘सबैका लागि शिक्षा’ भन्ने नारालाई सार्थक तुल्याएको भनाइ राखे।

उनले विद्यालय तहको शिक्षा समय सापेक्ष हुन नसकेको भन्ने केही अविभावकबाट गुनासो आइरहेको जानकारी राख्दै विद्यालय तहको शिक्षालाई बालकको आधारभुत जीवनयापनसँग जोडिनुपर्ने बताए।

संस्थाका महासचिव रामप्रसाद सुवेदीले त्यस अवसरमा संस्थागत परिचय राखेका थिए।उनले सन् २००३ बाट कार्यक्रम शुरु गरिएको बताउँदै विद्यालय भर्ना सहयोग कार्यक्रम २०७४ अन्तर्गत कास्कीका २० बढी विद्यालयका कुल चार सय ४२ जना विद्यार्थीलाई यसपटक सहयोग गर्न लागेको बताए।

उनले बालबालिकालाई कुमालेसँग रहेको काँचो माटोसँग तुलना गर्दै आफ्ना बालबालिकाको क्षमता चिन्न उपस्थित अविभावकलाई आग्रह पनि गरेका थिए।

केयर नेपाल हरियो वन कार्यक्रमका टिम लिडर देवराज गौतमले बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकारलाई पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रमले टेवा पुर्‍याएको उल्लेख गरे।

पोखरा १७ का नवनिर्वाचित सदस्य बैकुण्ठ भण्डारीले बालबालिकालाई दिएको सहयोगलाई अविभावकहरुले सदुपयोग गर्नुपर्नेमा जोड दिए।

असल छिमेकी बचत तथा ऋण सहकारीका अध्यक्ष टोपराज ढुंगानाले राज्यले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरेको भन्दै खुसी व्यक्त गरे।

छोरेपाटन मावि कक्षा १० की छात्रा संगीता दर्जीले संस्थाको सहयोगले आफूले पढ्न पाएको स्मरण गर्दै विपन्न बालबालिकाको पठनपाठनलाई सहयोग कार्यक्रमले ठुलो मदत्त पुर्‍याएको बताइन्।

संस्थाका सदस्य शिशिर खनालले विपन्न बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणलाई ध्यानमा राखी सहयोग कार्यक्रम अगाडि बढाउँदै आएको धारणा राखे।

संस्थाका कार्यवहाक अध्यक्ष सीता परियारको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शिशिर खनालले स्वागत र कार्यक्रम संयोजक कमला रिमालले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता