जनप्रतिनिधिलाई शिवशक्ति टोल विकासको सम्मान

पोखरा ४ असार। पोखरा ११ फूलबारीस्थित शिवशक्ति मार्ग टोल विकास संस्थाले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ।

संस्थाले शनिबार नवनिर्वाचित महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, वडा नं. ११ का वडाध्यक्ष मोहन बास्तोला, सदस्य तीर्थकुमारी गुरुङ, टुकुरा परियार, जंगबहादुर हमाल र मीनबहादुर गुरुङलाई स्वागत एवं सम्मान गरेको हो। टोल विकास संस्थाका अध्यक्ष पुण्यप्रसाद पौडेलले नव निर्वाचित प्रतिनिधिलाई फूलमाला अविरसहित दोसल्ला ओर्ढाई सम्मान गरे।

कार्यक्रममा महानगर प्रमुख जिसीले पोखरालाई सुविधासम्पन्न महानगर वनाउने प्रतिवद्धता ब्यक्त गरे। पोखराको विकास पुरानो शैली र परम्पराले हुनै नस्कने बताउँदै जिसीले त्यसको लागि दिर्घकालीन र अल्पकालीन योजना निर्माण गरी अगाडि बढ्न एक वर्ष लाग्ने बताए। उनले महानगरलाई  भावी दिनमा भ्रष्टाचारमुक्त नगर बनाउन प्रयास गर्ने पनि उनले बताए।

वडा नं. ११ वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले वडाको विकास गर्न आफू प्रतिवद्ध रहेको बताउँदै त्यसको लागि सबै पक्षको सहयोगको अपेक्षा गरे। उनले वडा समिति कार्यालय बनाउनेदेखि सडक, खानेपानी, विद्युत्जस्ता विषय आफ्नो पहिलो प्राथामिकतामा रहेको बताए।

कार्यक्रममा महिला सदस्य तीर्थकुमारी गुरुङले विकास योजना पारदर्शी एंव भ्रष्टाचारमुक्त हुने बताइन्। सदस्य टुकुरा परियार, जंगबहादुर हमाल र मीनबहादुर गुरुङले एकजुट भएर वडाको विकास गर्ने प्रतिवद्धता ब्यक्त गरे।

टोल विकास संस्थाका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला, वडा नागरिक मञ्चका अध्यक्ष महावीर थापा, भाष्करमार्ग टोल विकास संस्थाका अध्यक्ष कृष्ण पौडेल, शिवशक्ति महिला उत्थानकी अध्यक्ष उमा देवी श्रेष्ठलगायतले वडाको विकासको लागि निर्वाचित प्रतिनिधिसँग आग्रह गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिलाई रानीपौवा टोल विकास संस्थाका अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, जनपद महिला समूहकी अध्यक्ष द्रौपदी श्रेष्ठ, शिवशक्ति टोल विकासका महावीर थापा, शिवशक्ति महिला उत्थानकी उमा श्रेष्ठ, जनपथ टोल विकास संस्थाका सचिव एकप्रसाद गुरुङले खादा लगाई सम्मान गरेका थिए। संस्थाका सचिव धर्मदत्त ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष धर्मप्रसाद बास्तोलाले गरेका थिए।

- एजेन्सी