अनुपमद्वारा चार स्रष्टा सम्मानित, नृत्यमा कृपालाई उपाधि

पोखरा, ४ असार। अनुपम म्यूजिक पोखराले चौथो अनुपम साङ्गीतिक साँझमा चार स्रष्टालाई शनिबार सम्मान गरेको छ।

जसमा अनुपम म्यूजिक अवार्ड सङ्गीतकार किरण कँडेललाई नगद आठ हजार आठ सय ८८ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो।

यस्तै, अनुपम सङ्गीत सम्मान गायक विवेक श्रेष्ठ र गीतकार वसन्ती लालचनलाईं तथा तीर्थहरि समाजसेवा अवार्ड पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङलाई प्रदान गरियो।

सम्मानित व्यक्तित्वलाई सम्मान गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले पोखरा आएर फकेपछि आफूलाई नयाँ कार्य योजनाको सोच फुर्ने बताए।

पोखराको सिर्जनशीलताबाट निकै प्रभावित भएको बताउँदै थापाले अनुपमले गरेको कार्यक्रमले नयाँ र स्थापितलाई एक साथ हौसला प्रदान गरेको बताए।उक्त अवसरमा बालगृह सञ्जाल कास्कीको समन्वयमा भएको अन्तरबालगृह एकल नृत्य प्रतियोगितामा सिर्जना बालगृहकी कृषा बुढाथोकीले उपाधि हात पारिन्। उनले उपाधिसहित नगद १० हजार जितिन्।

एसओएस बालग्राम गण्डकीकी आरतीमाया गोले र स्टार चिल्ड्रेन होमकी सीमा केसी क्रमशः दोस्रो र तेस्रो भए। एसओएस बहिनी कास्कीकी अमिशा दाहाल र शुभअवसर बालग्रामकी प्रतिका तामाङ सान्त्वना भए।

कार्यक्रम संयोजक तथा संस्थाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले स्वागत गर्दै अनुपमका सम्पूर्ण कार्यव|mमहरु २०७७ देखि विशेष बनाउने उद्घोष गरे।

सो अवसरमा संस्थाका संरक्षक वीरेन्द्र पालिखे, प्राज्ञ हरिदेवी कोइराला, मुख्य प्रायोजक सूयोर्दय सपिङ सेन्टरका प्रोप्राइटर गीतकार श्याम गुरुङ, समाजसेवी रामबहादुर कोइरालालगायतले सम्मान र पुरस्कार वितरण गरे।

बालगायक सुदीप गुरुङको गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समाजसेवी चन्द्रबहादुर गुरुङले आफूले पाएको अवार्डको रकममा १५ हजार रुपैयाँ थपेर संस्थालाई प्रदान गरे भने तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेले ५० हजार रुपैयाँको चेक प्रबन्ध निर्देशक अनुराग अधिकारीलाई हस्तान्तरण गरे।

कार्यक्रममा गायक विवेक श्रेष्ठ, कर्म ग्याल्छेन, रामभक्त जोजिजू, ध्रुव तामाङ, रोशनी गुरुङ, सन्तोष प्रधान, श्रीधरण कँडेल, लक्ष्मी गिरी, किरण कँडेल, सुदिप गुरुङलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राखे। पोखरा उद्योग वाणिज्य संघमा भएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रुपिन्द्र प्रभावी र गोविन्द्र सिंजालीले संयुक्त गरेका थिए।

- एजेन्सी