लैङ्गीक समानतामा जोड

पोखरा, ४ असार। सबै महिला एवम् बालबालिकालाई सशक्तिकरण गर्न सके लैङ्गीक समानता हुने एक कार्यक्रमका सहभागीले बताएका छन्।

सबै ठाउँमा, सबै महिला र बालबालिकाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्न सकेमा नै साचोरुपमा लैङ्गीक समानता हुने उनीहरुको निचोड थियो।

नारी सेवा केन्द्र, नदीपुरद्वारा पोखरामा आइतबार आयोजित ‘लैङ्गीक समानताको दृष्टिकोणले नेपालमा दिगो विकास लक्षको कार्यान्वयनमा भएको प्रगति समीक्षा’ विषयक प्रदेशस्तरीय कार्यशालामा सहभागीले यस्तो बताएका हुन्।

संयुक्त राष्ट्र संघले दिगो विकाससम्बन्धी ल्याएको १७ वटा लक्ष्यमध्ये ५ नं लक्षमा लैङ्गीक समानताका सम्बन्धमा उल्लेख गरेको छ। सन् २०१६ देखि २०३० सम्म यो लक्ष्य पूरा गर्नुपर्ने प्रावधान छ। संयुक्त राष्ट्र संघद्वारा सहस्राब्दी लक्ष्यपछि ल्याइएको दिगो विकासका लक्ष्य हुन्। दिगो विकासका लक्ष्य १७, उपलक्ष्य एक सय ६९ र सूचक दुर्इ सय २३ छन्।

सहभागीले महिलालाई आर्थिक स्रोत साधनमा समान अधिकार दिनुपर्ने धारणा राखे। जमिन तथा सम्पत्तिका अन्य स्वरुप र वित्तीय सेवा, राष्ट्रिय स्रोतहरुमा समान अधिकार दिने गरी सबै क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनुपर्ने उनीहरुको भनाइ थियो।

महिला र बालबालिकासम्बन्धी सबै किसिमको विभेद हटाउने, उनीहरुको बेचबिखन र हिंसा कम गर्ने, सार्वजनिक तथा निजी क्षेत्रमा कम उमेरका बालबालिकाको बालविवाह गर्ने कार्यमा रोक, राजनीतिक तथा सामाजिक क्षेत्रमा महिला तथा बालबालिकाको समान सहभागितालगायत एजेण्डा दिगो विकाससम्बन्धी उपलक्ष्य हुन्।

कार्यक्रममा नारी सेवा केन्द्रद्वारा रुकु परियार र मनदेवी परियारलाई सम्मान गरियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उनीहरुलाई नगद एक हजारसहित सम्मानपत्रद्धारा सम्मान गरेका हुन्।

जिसीले हरेक क्षेत्रमा महिलाहरुको जनसहभागिता अनिवार्य रहेको औल्याए। महिलाहरुले जस्तोसुकै जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ छ।

पोखरा लेखनाथ महानगरपालिका बृहत् बन्दै गएको बताउँदै जिसीले यहाँको महिला तथा हरेक नागरिकको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए।

नारी सेवा केन्द्रकी अध्यक्ष उषा बरुवालले ‘लैङ्गीक समानता’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन्। केन्द्रकी उपाध्यक्ष सरु अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता