अर्मलामा असारे रोपाइँ महोत्सव

पोखरा, ४ असार। १४ औं संस्करणको असारे रोपाइँ महोत्सव अर्मलाको पक्की पुल र ठूलीबेसी फाँटमा हुने भएको छ।

पोखरा १६, बाटुलेचौर क्षेत्रमा पर्ने स्थानीय गोबिन्दबहादुर खड्काको करिब आठ रोपनी क्षेत्रफलको खेतमा यस पटकको असारे रोपाइँ महोत्सव हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराका साथ हरेक वर्षको असार १५ गते पोखरा पर्यटन परिषद्ले निरन्तर रोपाइँ महोत्सव गर्दै आएको छ। रोपाइँ महोत्सवले पोखरा क्षेत्रको खेतीयोग्य जमिनको संरक्षण, कृषिको व्यावसायीकरण र कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्ने संयोजक नवराज अधिकारीले बताए।

असारे रोपाइँ महोत्सवमा हलगोरुको साउने प्रतियोगिता, आमा समूहहरुवीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पत्रकार, नेपाली महिला पुरुष, विदेशी महिला पुरुष पर्यटकको हिलोमा दौडने प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, कास्कीका स्थानीयमध्येबाट उत्कृष्ट कृषक सम्मान र विविध सांस्कृतिक कार्यक्रम रहनेछन्।

असारे रोपाइँ तथा गीत प्रतियोगिता र हलगोरु साउने प्रतियोगिताका लागि पुरस्कारको व्यवस्था गरेको आयोजकले बताएको छ। असारे रोपाइँ तथा गीत प्रतियोगितामा विजेताले पाँच हजार, उपविजेताले तीन हजार, तृतीयले दुर्इ हजार र सान्त्वना पुरस्कार एक हजार रुपैयाँ रहेको छ।

त्यस्तै, हलगोरु साउने प्रतियोगिता विजेताले तीन हजार, उपविजेताले दुर्इ हजार, तृतीयले एक हजार र सान्त्वना पुरस्कार पाँच सय रहेको छ।

महोत्सवमा ३० हजार स्वदेशी र पाँच सय विदेशी पर्यटकहरुले महोत्सव हेर्ने आयोजकको दाबी छ। आयोजकका अनुसार पोखरालगायत काठमाडौंमा स्वयंसेविका रुपमा कार्यरत विदेशी पर्यटकहरुले रोपाइँको अवलोकन गर्नेछन्।

महोत्सव व्यवस्थापन गर्नका लागि नवराज अधिकारीको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति र विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ।

यस पटकको रोपाइँ महोत्सवले बाटुलेचौर क्षेत्रको महेन्द्र गुफा, चमेरे गुफा,कुमारी गुफा, ऐतिहासिक अर्मलाकोट, सिद्ध थान, दमाहाको ढुंगा र तातोपानीका धारा जस्ता पर्यटकीय महत्व बोकेको सम्पदा प्रबर्द्धन हुने स्थानीयवासीको विश्वास छ।

- अादर्श समाज सम्वाददाता