सेतीमदी सहकारीद्वारा तालिम

पोखरा, ३ असार। पोखरा-१, हरिचोकस्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्थाले  संस्थाका सेयर सदस्यलाई अचार, जाम, सस र जुस बनाउने आधारभूत तालिम दिएको छ।

पाँचदिनसम्म चलेको तालिममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका भूपू प्रशिक्षक विष्णुप्रसाद पराजुली तथा मीना पराजुलीले प्रशिक्षण दिएका हुन्।

आफ्ना सेयर सदस्यलाई व्यावसायिक र उद्यमी बनाउने मूल उद्देश्यका साथ आयोजित कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष विश्वबहादुर गुरुङले गरेका थिए। उक्त तालिममा ९० जना सदस्यले भाग लिएका हुन्।

तालिममा सहभागी प्रशिक्षार्थीले दैनिक उपभोग्य वस्तु व्यावसायिक हिसाबले तयार गर्न तालिम उपयोगी रहेको जनाए।

समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष बलराम भण्डारी, लेखा समिति संयोजक रामजी गौतम, लेखा सदस्य विष्णुप्रसाद पराजुली, सञ्चालक सदस्य देवराज सुवेदी, ऋण तथा बजार अनुगमन उपसमिति सदस्य शशी शर्मा अधिकारी र प्रशिक्षार्थीतर्फबाट लक्ष्मी अधिकारीले बोलेका थिए। संस्थाका सचिव जयलाल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए। उक्त अवसरमा तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

- अादर्श समाज सम्वाददाता