निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार

चुनावका लागि गाउँ र्फकन देउवाको आग्रह

काठमाडौं, २५ जेठ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताएका छन्। उनले कार्यकर्तालाई स्थानीय निर्वाचनमा सक्रिय हुनसमेत आग्रह गरे।

मन्त्रीमा जाने नेताको नाम टुंगाउन र बाँकी जिल्लाका स्थानीय निकायका उम्मेदवार तय गर्न काँग्रेस पदाधिकारीको बैठक बिहीबार पार्टीकार्यालय सानेपामा बसेको थियो।

मन्त्री बन्न विभिन्न नेताहरुले पार्टीकार्यालय र सभापतिकोमा धाउन लागि रहेका बेला प्रधानमन्त्री देउवाले नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर र्फकन आग्रह गरेका हुन्। पहिलो चरणमा आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई बढीमा चार मन्त्रालय दिने तयारी गरेका छन्। काँग्रेसको भागमा १० मन्त्रालय पर्ने सत्तारुढ गठबन्धनवीच सहमति भएको छ। काँंग्रेसले पाउने १० मध्ये यसअघि नै तीनजना मन्त्री भइसकेका छन्। गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र र्फमूल्लाह मन्सुर तीनैजना देउवा पक्षका हुन्। अब देउवा पक्षबाट तीनजना मात्रै मन्त्री थपिनेछन्। बाँकी पौडेल पक्षले पाउनेछ। पौडेल पक्षले मन्त्रालय टुंगो लाग्नासाथ आफ्नो पक्षका चार जनाको नाम देउवालाई बुझाउने तयारी गरेको छ। मन्त्रालय नभनी मन्त्रीको नाम नदिने सन्देश रामचन्द्र पौडेलले देउवालाई पठाइसकेका छन्। पौडेल पक्षले अर्थ मन्त्रालय देउवाले आफ्ना निकटस्थ ज्ञानेन्द्र कार्कीलाई दिएपछि अब भौतिक पूर्वाधार आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ।

भौतिक पूर्वाधार मन्त्रालय पाएमा बलबहादुर केसीलाई पठाउने पौडेल पक्षको तयारी छ।

पौडेल पक्षबाट मन्त्रीका लागि डा नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाईको नाममा छलफल भइरहेको छ। राजन केसीको नाम पनि प्रस्तावमा ल्याइएको छ।

देउवा पक्षबाट अब मन्त्री थपिने तीनैजना नयाँ अनुहार हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। ललितपुरका मदन अमात्य, सुनसरीका मीन विश्वकर्मा, पाँचथरका भीष्म आङदेम्बे, काठमाडौंका ध्यान गोविन्द रञ्जित र डोटीका वीरवहादुर बलायर देउवाको प्राथमिक सूचीमा छन्।

त्यसैगरी, देउवा पक्षबाट भरतकुमार शाह, रामहरि खतिवडा लगायतले पनि विमलेन्द्र निधि मार्फत देउवामाथि दबाब बढाएका छन्। खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन दबाब दिएका छन्।

यसैबीच, प्रधानमन्त्री देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। पार्टीकार्यालय सानेपामा भएको ‘स्थानीय निर्वाचन परिचालन’ सम्बन्धी कार्यक्रममा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे।

देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिए। कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताए।

- अादर्श समाज सम्वाददाता