प्रधानमन्त्रीद्वारा पदभार ग्रहण

आठ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौ २४ जेठ। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहणसँगै बुधबारबाट पदभार सम्हालेका छन्।

प्रधानमन्त्री देउवाले बुधबार नै तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीहरु नियुक्ति गरेका छन्। पदभार सम्हालेको पहिलो दिन देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्। शपथ ग्रहणकै दिन पहिलो मन्त्रिपरिषद्को बैठकसमेत बसेको छ। बैठकले आगामी माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्ने निर्णय गरेको छ। त्यसअघि, प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए। बुधबार नै तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीहरुले पनि शपथ ग्रहण गर्दै आ आफ्नो पदभार ग्रहण गरेका छन्। नवनिवार्चित प्रधानमन्त्री देउवाले तीन उपप्रधानमन्त्रीहरुमा लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र काँग्रेसका नेता गोपालमान श्रेष्ठलाई नियुक्ति गरेका छन्। गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालय सम्हाल्ने भएका छन्। गच्छदार यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री थिए। महरा पनि अघिल्लो सरकारका अर्थमन्त्री हुन्। यस्तै अन्य मन्त्रीहरुमा काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बनेका छन्।

कांग्रेसबाटै र्फमुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन्। शर्मा अघिल्लो सरकारमा उर्जामन्त्री थिए।

बुधबार नै बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले सरकारको आफ्नो प्राथमिकता तोकेको छ। यसमा आगामी माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

काँग्रेसमा असन्तुष्टि

मन्त्री चयनको विषयलाई लिएर काँग्रेसभित्र विवाद शुरु भएको छ। मन्त्री बनाउँदा मापदण्ड नबनाई एकल ढंगले अघि बढ्न लागेको भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असुन्तुष्टि जनाएको हो। बुधबार बिहान अनामनगरस्थित सर्म्पर्क कार्यालयमा बसेको पौडेल पक्षको बैठकले आफूहरुसँग कुनै छलफल नै नगरी सभापति देउवाले मन्त्रिमण्डल विस्तार गरेको भन्दै शपथ ग्रहण कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो। पछि सभापति देउवाले बाँकी विषय पछि मिलाउने गरी शपथ ग्रहण कार्यक्रममा आउन आग्रह गरेपछि पौडेल पक्ष शपथ ग्रहण कार्यक्रममा सहभागी भएको थियो।

- अादर्श समाज सम्वाददाता