दलहरुबीच सहमतिपछि संसद् अवरोध हट्यो

देउवा आज प्रधानमन्त्री बन्दै

काठमाडौं, २२ जेठ । भरतपुर घटनालगायत विभिन्न विषयमा असहमति जनाउँदै संसद् अवरुद्ध जारी राखेको प्रमुख प्रतिपक्षी एमालेले र सत्तारुढ दुर्इ दलबीच सहमति भएपछि मंगलबारबाट सदन सुचारु हुने भएको छ । सदन अवरोध हट्ने भएपछि मंगलबार नै देशले नयाँ प्रधानमन्त्रीसमेत पाउने भएको छ । एमालेले अवरोध गरेपछि यसअघि प्रधानमन्त्री चयनको लागि तय भएको संसद् बैठक स्थगित भएको थियो ।

सभामुख ओनसरी र्घर्तीको पहलमा सोमबार प्रमुख तीन दलबीच चारबुँदे प्रतिबद्धतापछि एमालेले सुचारु गर्न सहमत भएको नेताहरुले बताएका छन् । सभामुखको कार्यालय सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरोध नगर्ने बताएको हो । बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने, पहिलो चरणको निर्वाचनमा भएका अनियमितता र घटनालाई संसदीय समितिले छानबिन गरी कारबाही अघि बढाउने, असार १४ गतेको लागि तोकिएको दोस्रो चरणको निर्वाचन यथासमयमा नै गर्नेलगायत रहेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता झलनाथ खनालले मंगलबारको संसद् बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिए ।

सत्तापक्षले निर्वाचनसम्बन्धी प्रतिवद्धता जनाएपछि एमाले संसद् बैठक सुचारु गराउन सहमत भएको जानकारी गराउँदै मंगलबार संसद्मा नेताहरुले सम्बोधन गरी प्रधानमन्त्री चयन प्रक्रियालाई अघि बढाइने उनले बताए ।

काँग्रेस नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि मंगलबार सदन सुचारु हुने र प्रधानमन्त्री चयन प्रक्रिया सुचारु हुने बताए ।

प्रमुख प्रतिपक्षी एमालेसँग सहमतिको लागि सोमबार बिहान काँग्रेस नेताहरु बिमलेन्द्र निधि र प्रदीप गिरीलगायतका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न निवास बालकोट पुगेका थिए । छलफलमा काँग्रेस नेताहरुले संसद् सुचारु गर्न सहयोगको लागि पार्टीसभापतिको तर्फबाट आग्रह गरेका थिए ।

दलहरुबीच सहमतिसँग मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ । यसअघि प्रधानमन्त्रीको उम्मेदवारीक्रममा एमालेले पनि उम्मेदवारी दिने भन्ने चर्चा रहे पनि उसले संसद् अवरुद्ध रहेको बेला उम्मेदवारी प्रक्रिया अघि बढ्न नसक्ने भन्दै आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको थिएन ।

यसैबीच, नेपाल परिवार दलले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।       दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले प्रतिपक्षमै बसेर राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको पक्षमा निरन्तर काम गर्ने जनाएको छ । संविधान कार्यान्वयन, असन्तुष्ट दलको माग सम्बोधन, विकास र पुनःनिर्माणमा सबै दलबीच समझदारी आवश्यक रहेको समेत सो दलले जनाएको छ ।

- अादर्श समाज सम्वाददाता