सरकारले जनताको अधिकार खोस्यो : जिसी

पोखरा, २२ जेठ। पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले सिंहदबारको अधिकार गाँउमा ल्याएको भन्ने सरकारले जनप्रतिनिधिको अधिकारमा अंकुश लगाएर पुरानै अवस्थाको पुनरावृत्ति गर्न खोजेको बताएका छन्।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिले शनिबार आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले जनतालाई अधिकार सम्पन्न बनाउने दावी गरिएपनि प्रचण्ड नेतृत्वको काम चलाउ सरकारले अधिकारमा अंकुश लगाएको बताए।

ँजनताका अधिकार धेरै भयो भनेर अंकुश लगाउने काम भएको छ’-जिसीले भने। आन्तरीक स्रोत जुटाएर महानगरवासीलाई भत्ता दिन्छौ भन्दा नपाउने भन्दै उनले आफनो प्रतिबद्धता जसरी पनि पुरा गरी छाड्ने उल्लेख गरे।

पोखरा महानगरलाई समृद्ध र आर्थिक रुपमा सम्पन्न बनाउने उनको दावी थियो। उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई धार्मिक, साँस्कृतिक र पर्यटकीय शहरका रुपमा विकास गदै अन्तराष्ट्रिय शहरका रुपमा विकास गर्ने बताइन्।

उनले पोखरालाई भष्ट्राचारमुक्त र सुशासनयुक्त शहर बनाउने बताउदै महानगरमा अव कुनै पनि काम टेबलमुनिबाट नभई टेबलमाथिबाट हुने अवस्था सृजना गरिने उल्लेख गरिन्।कार्यक्रममा प्रमुख जिसी र उपप्रमुख गुरुङ लगायत वडा अध्यक्ष गाँउपालिका प्रमुखहरुलाई तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले सम्मान गरेका थिए।

कार्यक्रममा घाटुु तथा गुरुङ समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा तेन्जीङ हिलारी म्याराथनमा सहभागी र्सूय गुरुङ, अञ्जु गुरुङ, बविता गुरुङ र तमु प्ये ल्हु संघ यूकेका सोम तमुलाई सम्मान गरिएको थियो।

उनीहरुलाई प्रमुख जिसी र उपप्रमुख गुरुङले सम्मान गरेका थिए। कार्यक्रमको सञ्चालन संचारकर्मी शान्ति गुरुङले गरेकी थिइन्। त्यस्तै चार भञ्जयाङ तमु समाज पोखराले पनि नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङलाई सम्मान गरेको छ। शनिबारनै एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।

सम्मान कार्यक्रममा बोल्दै गुरुङले राजनीति नगरेपनि राजनीतिक चेतना हुन आवश्यक रहेको बताइन्। नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) गण्डकी धौलागिरीले पनि उपप्रमुख गुरुङ सहित चार गाँउपालिका प्रमुख र महानगरका वडाका वडा अध्यक्षहरुलाई सम्मान गरेको थियो। सांसद चुडामणी जंगली र जिफण्ट गण्डकी धौलागिरी अध्यक्ष मिना गुरुङले संयूक्त रुपमा सम्मान गरेका थिए।

- एजेन्सी