देउवा प्रधानमन्त्री निश्चित

काठमाडौं, २० जेठ। नयाँ प्रधानमन्त्री चयनको लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। व्यवस्थापिका-संसदमा पुगेर देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका हुन्।

प्रधानमन्त्रीको उम्मेदवारी एमालेले पनि दर्ता गर्ने भनिए पनि प्रतिपक्षी एमालेले प्रक्रिया नपुर्‍याई उम्मेदवारी दर्ता शुरु गरेको भन्दै असन्तुष्टि जनाएको छ।

प्रधानमन्त्रीको उम्मेदवारमा देउवा एक्लै देखिए पनि उनको उम्मेदवारीमा बहुमत देखाउन संसद्मा मतदान हुनेछ। प्रधानमन्त्री चयनको लागि आइतबार बिहान ११ बजेको समय तय गरेको छ।

संसद् सचिवालयले तय गरेको प्रक्रियाअनुसार शनिबार प्रधानमन्त्रीको उम्मेदवारी आएको हो। काँग्रेस सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् भने समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार रहेका छन्। यस्तै, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी पनि समर्थकमा छन्।

शनिबार बसेको काँग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाइ अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गरेको मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए। काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री दाहालले जेठ १० गते पद्बाट राजीनामा दिएका थिए।

यसैबीच, प्रमुख प्रतिपक्षी दल एमालेले नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा भाग नलिने निर्णय गरेको छ। दिउँसो बसेको एमालेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरेको हो।

प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सूचनाद्वारा अगाडि बढाउने निर्णय नै संविधानविपरीत भएको भन्दै एमालेले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।

बिहान ११ बजे संसद्मा प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुने भनिएपछि प्रमुख प्रतिपक्षी एमालेले भने संसद्मा जारी अवरोधलाई कायमै राख्ने जनाएको छ।

- अादर्श समाज सम्वाददाता