पोखरा १३ ,१४ र १५ मा एमाले प्यानल

पोखरा, ६ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३, १४ र १५ मा एमाले प्यानल विजयी भएको छ।

शनिबार सार्वजनिक परिणाममा महानगरको वडा नम्बर १३ को वडाध्यक्षमा लेखबहादुर तामाङ -दर्शन लामा) काँग्रेस उम्मेदवार बजिरमान श्रेष्ठले भन्दा नौ सय ९८ मत बढी ल्याएर विजयी भए। तामाङको दुर्इ हजार छ सय छ र श्रेष्ठको एक हजार छ सय आठ मत छ। वडा सदस्यमा पनि रहिमुल्ला मियाँ र एमालेका टंकप्रसाद भट्टराई, महिला सदस्य कृष्णकुमारी गुरुङ तथा दलित महिला सदस्य कमला विक विजयी भए।

यसैगरी, वडा नम्बर १४ मा पनि नेकपा एमाले प्यानल विजयी भयो। एमालेका उम्मेदवार प्रेमबहादुर कार्की क्षत्री वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनी एक हजार आठ सय छ मतका साथ विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका बोधबहादुर कार्कीले एक हजार छ सय ७४ मत ल्याए। वडा सदस्यमा जितेन्द्रजंग थापा, ढोलबहादुर गुरुङ, महिला सदस्यमा यशोदा केसी भट्टराई तथा दलित महिला सदस्यमा सुनकमली कामी विजयी भइन्।

प्यालन नै आफ्नो पक्षमा पारेको नेकपा एमालेले वडा नम्बर १५ मा अध्यक्षमा प्रकाश पौडेल विजयी भए। निकटतम प्रतिष्पर्धी काँग्रेसका टोपबहादुर थापालाई झण्डै पाँच सय मतले उनले पराजित गरे। पौडेलको एक हजार नौ सय ४४ मत आउँदा थापाको एक हजार चार सय ४७ मत आयो। खुला सदस्यमा तोरणबहादुर बानियाँ, रुकबहादुर गुरुङ, महिला सदस्यमा पार्वती थापा कार्की र दलित महिला सदस्यमा मन्दिरा परियार निर्वाचित भए। योसँगै एमालेले पोखरा लेखनाथ महानगरको १५ वडासम्मको नतिजा सार्वजनिक हुँदा सात वटा वडामा जित हात पारेको छ। नेपाली काँग्रेसले आठ वडामा जितेको छ। वडा नम्बर १, ५, ७, ८, १३, १४ र १५ मा एमालेले वडाध्यक्ष जित्दा काँग्रेसले २, ३, ४, ६, ९, १०, ११ र १२ मा जित हात पारेको हो।

- अादर्श समाज सम्वाददाता