दुर्इ नगरपालिकामा एमाले विजयी

चितवन, ६ जेठ। चितवनमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार दुर्इ नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। यसअघि एक नगरपालिकामा माओवादी केन्द्र र एक गाउँपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेका थिए।

राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेकी प्रभा बराल ११ हजार छ सय १३ मत ल्याई प्रमुखमा विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किरणभूषण ओलीले सात हजार दुर्इ सय ९२ मत प्राप्त गरेका थिए।

यस्तै, उपप्रमुखमा एमालेकै इमानसिंह लामा ११ हजार आठ सय ८२ मतका साथ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अनिता मैनाली सात हजार ७४ मत प्राप्त गरेकी थिइन्।

राप्ती नगरपालिकाका १३ मध्ये ११ वडाको वडा अध्यक्षमा एमाले विजयी भएको छ भने दुर्इ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ।

कालिका नगरपालिकामा पनि प्रमुख र उपप्रमुख सहित बहुमत वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

कालिकाको प्रमुख पदमा नेकपा एमालेका खुमनारायण श्रेष्ठ -गोपी) ले सात हजार चार सय ९२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमल आचार्यले सात हजार एक सय ६४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेकी कमला भट्टराईले सात हजार पाँच सय ३५ मत प्राप्त गरेकी छिन् भने काँग्रेसकी नीरुजा श्रेष्ठले छ हजार सात सय २० मत प्राप्त गरेकी छिन्।

कालिका नगरपालिकामा रहेका ११ वटामध्ये छ वटा वडामा नेकपा एमाले र पाँच वटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ।

जिल्लाका सात स्थानीय तहमध्ये मतगणना जारी तीन वटा तहमा पनि नेकपा एमालेले अग्रता हासिल गरेको छ। रत्ननगर नगरपालिकामा नेकपा एमालेका नारायण वन नेपाली काँग्रेसका रुपन घिमिरे भन्दा अगाडि रहेका छन्।

यस्तै, खैरहनी नगरपालिकामा पनि नेकपा एमालेका लालमणि चौधरी नेपाली काँग्रेसका राजेन्द्र चौधरीभन्दा अगाडि रहेका छन्।

यसअघि माडी नगरपालिकामा माओवादी केन्द्र र इच्छाकामना गाउँपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेका थिए।

- अादर्श समाज सम्वाददाता