स्थानीय चुनावमा पोखरा अनपेक्षित नतिजा रोचक

पोखरा, ४ जेठ । स्थानीय तहको चुनावअन्तर्गत चार दिनदेखि जारी मतगणनामा पोखरा लेखनाथ महानगरपालिकामा हालसम्म एक चौथाई मतगणना सकिएको छ । आइतबार भएको मतदानमा एक लाख २५ हजार छ सय १४ मत खसेकोमा महानगरका नौ वडाको २४ हजार एक सय ८३ मतगणना भएको छ । यसबाहेक १०, ११ र १२ नम्बर वडाको मतगणना जारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार रातिसम्म २५ प्रतिशत हाराहारीमा मतगणना भैसकेको छ । प्राप्त नतिजा मूल्यांकन गर्दा काँग्रेस र एमाले कसैले पनि अपेक्षाकृत नतिजा निकाल्न सकेका छैनन् । काँग्रेसका गढ भनिएका वडामा नजानिँदो हिसाबले एमाले हावी भएको छ भने एमालेको पकड भएका वडामा काँग्रेसको उपस्थिति राम्रो छ ।

मिश्रति नतिजाका कारण कुन पार्टीले जित्छ भन्ने अनुमान लगायन उस्तै कठिन छ । हालसम्म काँग्रेसले पाँच वडा जितेको छ भने एमालेले चार । गणना भएका वडामध्ये २, ३, ४ र ९ मा काँग्रेसले प्यानल जितेको हो भने १, ५ र ७ मा एमालेले प्यानलसहित पकड जमाएको छ । ६ र ८ मा दुवै पार्टीको मिश्रति परिणाम आएको छ ।

एमालेको गढ हो, वडा नम्बर ६ । यद्यपि यसपालि वडाध्यक्ष काँग्रेसको पोल्टामा पर्‍यो । बाँकी सबै सदस्य एमालेले जितेको छ । काँग्रेसको पकड मानिएको ८ नम्बर वडामा वडाध्यक्षसहित तीन सदस्य एमालेले जित्दा काँग्रेसले मुस्किलले दुर्इ खुला सदस्य मात्रै जोगाउन सक्यो ।

‘सोचेकोभन्दा केही फरक नतिजा आएको छ तर निराश हुने अवस्था छैन’-कास्की काँग्रेसका सभापति कृष्ण केसीले भने-’हामीले नसोचेका ठाउँबाट पनि अग्रता लिएर हारेको मतको परिपूर्ति गरिरहेका छौं ।’ झिनो मतान्तरमा भए पनि काँग्रेसले महानगरपालिकाको नेतृत्व पाउनेमा उनी आशावादी छन्।

एमालेका नेता तथा उम्मेदवार काँग्रेसको पकड क्षेत्रमा समेत आफूहरुले कब्जा जमाएको बताएका छन् । काँग्रेसले अहिलेसम्म धेरै नै लिड गर्ने आशंका थियो तर हाम्रो पकड भएको ठाउँमा पनि काँग्रेस अघि आएको छ । नतिजा अहिले नै अनुमान लाउन सजिलो नभएको उनीहरुको भनाइ छ ।

पछिल्लो मतगणनामा महानगर प्रमुखमा एमाले अगाडि छ । एमाले उम्मेदवार मानबहादुर जिसीले काँग्रेस उम्मेदवार रामजी कुँवरलाई एक सय ९८ मतले पछाडि पारेका छन् । जिसीको १० हजार सात सय २४ मत छ भने कुँवरले १० हजार पाँच सय ३६ पाए । उपप्रमुखमा पनि काँग्रेसभन्दा एमाले नै अगाडि छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १० हजार तीन सय २२ मत पाउँदा काँग्रेस उम्मेदवार सरस्वती गुरुङले नौ हजार दुर्इ सय ४२ मत पाइन् । दुर्इबीचमा एक हजार ८० मतको फरक छ ।

बिहीबार पोखरा ५ को पुनःमतगणनामा एमालेको पूरै प्यानल विजयी भयो । अघिल्लो दिन मतगणना सम्पन्न भए पनि अन्तिम समयमा मुचुल्का गरिएको मत नपाएपछि पुनः मतगणना गरिएको हो ।

उक्त वडाबाट वडाध्यक्षमा धनबहादुर नेपाली एक हजार सात सय ६८ मतसहित विजयी भए । वडाध्यक्षका प्रतिष्पर्धी काँग्रेसका उम्मेदवार रामजीप्रसाद कोइरालाले एक हजार दुर्इ सय ४६ मत पाए । प्यानल जितेको एमालेबाट वडा सदस्यमा एमालेकै पुष्पराज बराल, उज्ज्वल खत्री, महिला सदस्यमा अञ्जु केसी र दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा विजयी भए।

वडा नम्बर ६ बाट काँग्रेसका जगतबहादुर पहारी वडाध्यक्षमा विजयी भए । एमालेका हेमकुमार श्रेष्ठलाई एक सय ९५ मतले पराजित गर्दै उनी विजयी भएका हुन् । पहारीको एक हजार चार सय ६४ मत आउँदा श्रेष्ठले एक हजार दुर्इ सय ६९ मत ल्याए । बाँकी सदस्य पूरै एमालेले जितेको छ । खुला सदस्यमा विष्णुबहादुर भट्टराई, हरिकृष्ण पहारी, महिला सदस्यमा पुष्पा पहारी र दलित महिला सदस्यमा राममाया विक निर्वाचित भइन् ।

वडा नम्बर ८ मा एमालेको बहुमत छ । अध्यक्षसहित तीन सदस्य एमालेको छ भने दुर्इ खुला सदस्य काँग्रेसले जितेको छ । वडाध्यक्षमा एमालेका रुद्रनाथ बरालले काँग्रेसका उम्मेदवार शारदा गिरीलाई एक सय ४० मतान्तरले पराजित गरे । बरालको एक हजार आठ सय तीन मत आउँदा गिरीको एक हजार छ सय ६३ मत आयो । खुला सदस्यमा काँग्रेसका कृष्णमान ठूसाजु र पुष्पराज सिग्देल, महिला सदस्यमा एमालेकी किरण गौतम, दलित महिला सदस्यमा एमालेकै लक्ष्मी कौशल विजयी भए ।

वडान ९ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार रामराज लामिछानेले निकटतम् प्रतिद्वन्द्वी एमालेका गोविन्द तुलाचनलाई पराजित गरेका हुन् । लामिछानेको एक हजार एक सय ७४ मत आउँदा तुलाचनको नौ सय ८२ मत छ । वडा सदस्यमा सुरेश खवास, नन्दराम रेग्मी, महिला सदस्य राममाया मानन्धर र दलित महिला सदस्यमा गीता नेपाली विजयी भए । वडा नम्बर १० को जारी मतगणनामा काँग्रेस प्यानल अगाडि छ । आठ सय ४९ मत गनिसक्दा काँग्रेस उम्मेदवार राजकुमार गुरुङले एमालेका महेन्द्रकुमार गुरुङलाई एक सय २३ मतले पछाडि पारेका छन् । राजकुमारको तीन सय ३३ मत छ भने महेन्द्रले दुर्इ सय १० मत पाएका छन्। वडा सदस्यमा सम्मरबहादुर श्रेष्ठ र दीपकबहादुर थापा, महिला सदस्य नीशा मल्ल तथा दलित महिला सदस्यमा प्रतिमा विक (पोख्रेल) को अग्रता छ ।

- प्रकाश ढकाल