दुर्इ सय १२ तहको परिणाम सार्वजनिक

काठमाडौं, ४ जेठ। पहिलो चरणको स्थानीय निर्वाचनको दुर्इ सय १२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ।

पछिल्लो नतिजाअनुसार काँग्रेससँगको कडा प्रतिस्पर्धाबीच एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ। चार वटा महानगरपालिकाको मतगणना भने सुस्तरुपमा जारी छ।

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रममा बिहीबार मध्यरातसम्म दुर्इ सय १२ स्थानीय तहको नतिजा प्राप्त भएको छ। जसअनुसार नेकपा एमाले ८८ स्थानीय तहमा जीत हात पार्दै पहिलो स्थानमा कायमै रहेको छ।

यस्तै, काँग्रेस ८१ स्थानीय तहसहित दोस्रो र माओवादी केन्द्र ४० स्थानीय तहसहित तेस्रो स्थानमा रहेको छ।

यस्तै, राप्रपाले एक, नयाँ शक्तिले एक, जनमोर्चाले एक र स्वतन्त्र उम्मेदवारले दुर्इ स्थानीय तहमा जीत हात पारेको छ। प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका दुर्इ सय ८३ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको हो।

यसैबीच, निर्वाचनको परिणाम आउनेक्रम जारी रहँदा दलहरुले परिणामको समीक्षा शुरु गरेका छन्।

नेपाली काँग्रेसले पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ। काँग्रेस पदाधिकारी एवं राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुको चुनावको समीक्षात्मक बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ।

अब संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको नेताहरुले बताए।

यता, प्रमुख प्रतिपक्षीलगायत दलहरुले भने निर्वाचनमा सत्तारुढ दलहरुले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै संसदमा चर्को आलोचना गरेका छन्।

प्रमुख प्रतिपक्षी एमालेले ती घटनाहरुको छानविनको लागि संसदीय समिति गठन हुनुपर्ने माग गरेको छ।

दोस्रो चरणमा चाँडो मतगणना गरिने

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चाँडो गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा जनशक्ति थपेर चाँडो मतगणना गर्ने गृहकार्यमा लागेको जानकारी गराए ।

गत वैशाख ३१ गते भएको मतगणना ढिलो भयो भनेर जनस्तरबाट गुनासो आइरहेका बेला दोस्रो चरणमा हुने निर्वाचनको मतगणना छिटो गर्ने तयारी गरिएको हो । “पहिलो चरणमा ढिलो मतगणना भएको पाइयो”, उनले भने, “अब दोस्रो चरणका लागि भने हामीले थप जनशक्ति लगाएर चाँडो मतगणना गर्दछौँ ।”

निर्वाचन भएको चार दिन भइसक्दा पनि अहिलेसम्म बढी मतदाता भएका स्थानीय तहको १५ देखि २० प्रतिशत मात्र मतगणना भएको छ । प्रदेश नं ३, ४ र ६ का दुर्इ सय ८१ स्थानमा निर्वाचन भए पनि अहिलेसम्म करिब आधा स्थानीय तहको मात्र नतिजा आएको छ ।

- अादर्श समाज सम्वाददाता